आइटिएफ जे३० वल्र्ड टेनिस टुर, सिभालीलाई दोहोरो उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित


कास्की, –विश्व टेनिस टुर जे३० को पहिलो सर्किट जितेर इतिहास कोरेको एकसातापछि नेपाली टेनिस खेलाडी शिभाली गुरुङले दोस्रो सर्किटमा पनि उपाधि जित्दै अर्को इतिहास थपिएको छ ।

शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको दोस्रो सर्किटको फाईनलमा उमेर समूहमा शिभालीले उपाधि जित्दै दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा सिभालीले दोहोरो उपाधि जित्दा दोस्रो सर्किटमा पनि १४ वर्षको उमेरमा नै गल्र्स सिंगल्स र डबल्समा उपाधि लेखिन् । जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक जोड्न सफल भईन् । जुन नेपाली खेलाडीले प्राप्त गरेको सर्वाधिक अंक समेत हो ।

जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल शिभालीले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् ।

गल्र्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए ।

यस्तै ब्वाइज सिंगल्समा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । खेलमा पहिलो सेट युल होले ४–६ ले जिेतका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्ट हुदै मैदान छोडेका थिए । ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जितेका थिए । दुई साता सम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ (राजु), नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नविन चालिसे, द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, कोषाध्यक्ष विष्णु बहादुर थापा, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्का, आइटिएफ रेफ्रि प्रविन कुमार नायकले पदक प्रदान गरे ।