जन्ममिति ढाँटेर ल्याउने विद्यार्थी र विद्यालयलाई कार्वाही

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ४ गते २०८२ मा प्रकाशित


पोखरा-यही पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको जन्ममिति ढाँटेर खेलमा सहभागि गराउने विद्यालय र विद्यार्थीलाई कार्वाही गरिने पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड तयारीको लागि छलफल गर्ने पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले दर्ता गर्ने क्रममा जन्ममिति ढाटेर ल्याउने गरेमा कारवाही गरिने बताए ।

उनले टिम दर्ता शुरु भएको उल्लेख गर्दै विगतमा यस्ता खालका कार्य भएको पाइएको भन्दै यसपालि यसमा कडाइ गरिने उनले प्रष्ट पारे । पोखरा महानगर खेलकुद विकास समितिले प्राविधिक उपसमिति र विद्यालयका खेल शिक्षकसँग राखेको छलफल कार्यक्रममा बोल्दै शिक्षा अधिकृत भण्डारीले सहभागी विद्यार्थीको विवरणमा विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’ उल्लेख गरिने बताए ।
टिम गेममा पनि हरेक खेलाडीको छुट्टाछुट्टै फाराम भर्न उनले अनुरोध गरेका छन् ।

सबैको उपस्थितिमा पौष ७ गते टाइसिट बनाउने र ८ गते पत्रिका मार्फत सार्वजनिक गर्ने उनले खुलाएका छन् । विगतमा समेत फर्जी गर्नेलाई कारवाही गरिएको भन्दै यसपालि फर्जी गरेको पाइएका एक वर्ष खेल्न नदिने लगायतका कारवाही गरिने उनले प्रष्ट पारेका छन् । गलत संस्कार बस्न नदिनका लागि सबै चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले पोखरा महानगरमा रहेका १ सय ६० संस्थागत र ८० सामुदायिक गरेर कुल २ सय ४० विद्यालय रहेको भन्दै ती विद्यालय मध्येबाट प्रतियोगितामा सहभागी बन्ने जनाए ।

पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका १८ वर्ष भित्रका उमेर समुहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले इमानदारिताका साथ विद्यार्थीलाई सहभागी गराउन खेल शिक्षकसँग आग्रह गरे । आफूहरू सँधै सत्यको पक्षमा हुने भएकोले खेलाडी अनुशासनबारे ध्यान दिन आग्रह गरे । प्रतियोगिता सञ्चालनको समयमा केही गुनासो वा उजुरी भएमा सम्बन्धित ठाउँमा राख्न उनको अनुरोध छ। सबैको सहयोगमा प्रतियोगिता सफल हुने विश्वास उनको छ ।

सबैको मेहनतका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक ल्याउन पोखरा महानगर सफल भएको भन्दै उनले राष्ट्रपति इनिङ्ग शिल्डमा प्रदेशमा पहिलो भइसकेको भएकोले अब केन्द्रमा हुने गरी अगाडि बढ्ने बताए । केन्द्रको रनिङशिल्ड माथि कब्जा गर्ने योजनाका साथ तयारी सुरु गरिएको भन्दै यसमा सबैको साथ आवश्यक पर्ने औँल्याए । छलफलमा सहभागी खेल शिक्षकहरूले विभिन्न जिज्ञाशा राखेका थिए । उनीहरुका जिज्ञासा र परिवर्तित नियमको बारेमा प्राविधिक उपसमिति संयोजक राजन पौडेल, सहसंयोजक सिद्धान्त अधिकारी लगायतले जानकारी गराए ।