बत्तीमा सहारा र हङकङी टोली भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०८२ मा प्रकाशित


पोखरा-सवाधिक पुरस्कार राशीको आहा रारारारा पोखरा गोल्डकपको वर्षदिनको प्रतिक्षा सकिएको छ । भोलि मंगलबारदेखि आहा रारा गोल्डकपको पच्चीसौं संस्करण शुरु हुदैै छ । पुराना क्लबले फेरी पोखराको मैदानमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । कुनैबेला निकै चर्चित क्लबहरु फ्रेण्डस क्लब, जावलाखेल युथ क्लब सहितको टोली फेरी पोखराको मैदानमा देखा पर्ने छ । दर्शकले दिउँसोले फुर्सद नपाउने र फुटबलको मज्जा लिन नपाउने विगतको परिथितिलाई अन्त्य गरेको छ । कृत्रिम प्रकाशमा फुटबल हेर्ने अवसर दर्शकलाई जुरेको छ । सहारा क्लबले आफनो गोल्डकप यात्राको पच्चीस वर्षमा मैदानको वरिपरी बत्ती राखेर मैदान उज्यालो बनाउने छ । त्यही उज्यालोमा प्रतिस्पर्धा हुने छ ।

कृत्रिम प्रकाश उज्यालोमा खेल्ने पहिलो भाग्यमानी टोली आयोजक सहारा क्लब आफैं हुने छ । प्रतिस्पर्धा टोली बन्ने छ गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ । १४ लाख नगद राशी पुरस्कारको प्रतियोगितामा दुवै टोलीले सुखद शुरुवात गर्ने लक्ष्य र उद्देश्य लिएका छन् । यद्यपी आयोजक सहाराले आफनो घरेलु मैदानको भरपुर उपयोग गर्दै सुखद परिणाम निकाल्ने आत्मविश्वास देखिन्छ । उपविजेताले ६ लाख रुपैयाँ नगद पाउने छ ।

पच्चीसौं संस्करणमा क्लबले पच्चीसजना विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेको छ । क्याराभान गोल्डकपबाट क्लबले गोल्डकपको यात्रा शुरु गरेको हो । क्लबको गोल्डकप यात्रालार्य पोखराको प्रतिष्ठित व्यवसायिक घराना हिमश्री फुड्सले साथ दिदैं आएको छ । हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउबाट शुरु भएको गोल्डकप यात्रा आहाले १० वर्ष पुरा गर्यो । त्यसपछि अर्को १० वर्ष आहा रारासँग जोडियो । फुड्सकै उत्पादन रारा चाउचाउ दक्षिण एशियाकै पहिलो उत्पादन हो । फुड्स प्रालिले आहालाई ब्राण्ड्ङि गर्यो । त्यसपछि रारा जोडियो । रारा पनि १० वर्षे यात्रा सकिएपछि फुड्सले आहा रारालाई पोखरासँग जोड्दै आहा रारा पोखरा गोल्डकपबाट अगाडि बढ्यो । १० वर्षे सम्झौतासँगै आहा रारा पोखरा गोल्डकपको नामाकरणमा रुपान्तरित भयो ।

पच्चीसौं संस्करणसम्म आईपुग्दा दुई पटक गोल्डकप विदेशी टोलीको हातमा पुगेको छ । अफ्रिकन युनाईटेडले चौथो गोल्डकप जितेको थियो । चौबिसौं संस्करण भने अर्को विदेशी टोली उज्वेकिस्तानले जित्यो । आयोजक सहाराले पनि एकपटक उपाधि उचालेको तथ्यांक छ । विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब पोखराको मैदानमा सबैभन्दा बढी भाग्यमानी र सफल टोली हुन् । त्यसपछि उपाधि उचाल्नेमा टोलीमा थ्रिस्टार र संकटा क्लबको नाम पनि जोडिन्छ ।