सहारालाई हिमश्रीको काँध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०८२ मा प्रकाशित


धन बस्नेत/पोखरा: जतिबेला नेपालमा फुटबलको अवस्था शून्यता तर्फ उन्मुख थियो, त्यतिबेला नै पोखराको सहारा क्लबले फुटबलमा आफनो जग बसाल्यो । त्यो जगलाई पोखराकै प्रतिष्ठित व्यवसायिक घराना हिमश्री फुड्स प्रालिले बलियो बनायो ।

क्लबको स्थापना नै तत्कालिन माओवादीको जनयुद्धको प्रारम्भ पछि भएको थियो । २०५५ सालमा पोखराकै बसपार्कबाट उदय भएको क्लब अहिले नेपालकै उत्कृष्ठ क्लबमा दरिएको थियो । फुटबल मात्रै होईन आवासीय फुटबल एकेडेमी शुरु गरेको छ । आवासीय एकेडेमीमा अहिले ३० जना बालक आश्रित छन् । जुन क्लबको चौथो व्याचको एकेडेमी हो ।

क्लबले ०५८ सालबाट आफनो अभियान थाल्यो । नकाउट फुटबल प्रतियोगिताबाट । क्याराभान गोल्डकपबाट उदाएको सहारा क्लब पोखराले ०८२ को अन्तिममा आईपुग्दा पच्चीस वर्ष नकाउट फुटबलमा बिदायो । क्याराभानको सफलताको कडी त्यतिबेला मिल्यो जतिबेला फुटबलको क्रेजले हिमश्री फुड्सलाई मुख्य प्रायोजन गर्न बाध्य बनायो । ०५९ सालदेखि हिमश्री फुड्स प्रालिले क्लबसँग गरेको सहयात्रा पच्चीस वर्ष वित्यो ।

एकेडेमीको शुरुवात
संकटकालिन अवस्थामा फुटबललाई जोगाउन उद्धत सहाराले अनेकौ सुखदुख झेल्यो । फुटबललाई आफनो पहिलो उद्धेश्य बनाएको क्लबले ०५८ सालदेखि एकेडेमीको शुरुवात गर्यो । तर आवासीय एकेडेमीभने केही वर्षपछि मात्रै शुरु गरेको क्लबले जनाएको छ ।

आवासीय पहिलो व्याज ०६१ सालमा आफनो क्लब भवन पोखरा ९ बसपार्कबाट थाल्यो । फुटबलबाट जोगाएको पैसाले बालकलाई पढाउने र बढाउने मात्रै होईन खेलाउने अभियानमा पाईला चाल्यो । खर्चिलो अभियानको शुरुवात मात्रै नभई अनाथ र असहाय बालकको अभिभावकीय जिम्मेवारी पुरा गर्यो । पालन पोषण मात्रै नभई फुटबलमा करियर बनाउने लक्ष्य राख्दै थालेको एकेडेमी अहिले चौथो ब्याचमा छ ।

शुरुवातको दिनमा सामान्य खर्चमै एकेडेमी चल्यो । सहयोगी हात बढ्दै गयो । क्लबको दायरा बढ्दै गयो । महत्वकांक्षी योजना शुरु भयो आवासीय एकेडेमी । सहयोगीहातबाट हौसिएको क्लबले पोखरा १७ दोबिल्लामा आवासीय एकेडेमीको शुरु गर्यो । २६ रोपनी क्षेत्रफलमा आवासीय भवनसहित फुटबल मैदान छ । जहाँ क्लबले अनाथ र असहाय बालकलाई उचित शिक्षा दिक्षा र भविष्य बनाउन उद्धत छ ।

क्लबका पूर्व अध्यक्ष विक्रम थकालीका अनुुसा क्लबले आफनै आवासीय एकेडेमी शुरुवात गर्न पोखरा १७ दोविन्ल्लामा छब्बीस रोपनी जग्गा खरीद गर्यो । २०६३ सालमा जग्गा किनेपछि आवासीय एकेडेमीको सपनाको सुत्रधार भयो । २०६६ सालमा आवासीय भवनको शिलान्यास भयो । २०६९ माघ २६ गते आवासीय एकेडेमी भवन, फुटबल मैदान र प्यारापिटको उदघाटन भएको पूर्व अध्यक्ष थकाली सुुनाउँछन् । जग्गा खरीद ३३ लाखमा गरिएको थियो । त्यसपछि मैदान र प्यारापिट तथा भवनको लागि क्लबले दुई करोड रुपैयाँ आर्थिक सहयोग जुटाउँदै दुई तला निर्माण पुरा गरेको थियो । अहिले तीन तलाको एकेडेमी भवन छ । क्लबका सदस्यले स्वयंसेवक भूमिकामा आफनो जिम्मेवारी पुरा गर्दै आएका छन् ।

एकेडेमीको खर्च
दोस्रो, तेस्रो व्याचका बालकहरु अहिले एकेडेमीबाट बिदाई भईसकेका छन् । कोही फुटबलमा करियर बनाउन विभिन्न क्लबसँग अनुबन्धीत छन् । कोही सीप सिकेर आफनै खुट्टामा उभिएका छन् । केही रोजगारीमा छन् । क्लबले फुटबल प्रशिक्षणसँगै एकेडेमीमा रहेका बालकलाई दशजोड दुईसम्म अध्ययन गराउँदै आवश्यक सीप सिकाई घर जान चाहनेलाई परिवारको साथ लगाई पठाउने गरेको छ । केहीलाई रोजगारीको अवसर क्लब आफैंले खोजिदिएको छ ।
एकेडेमीको एक दशकको खर्च
साल रकम
०७२-०७३ (२३ लाख ६६ हजार )
०७३-०७४ (२३ लाख ६६ हजार )
०७४-०७५ ( २६ लाख ४३ हजार )
०७५-०७६ ( ३० लाख ५७ हजार )
०७६-०७७ (२७ लाख ९५हजार )
०७७-०७८ ( २४ लाख १४ हजार )
०७८-०७९ (२५ लाख २७ हजार )
०७९-०८० (२९ लाख ९९ हजार )
०८०-०८१ (४४ लाख ८८ हजार )
०८१-०८२ (४२ लाख १६ हजार
)

सानो खर्चबाट शुरुवात गरेको एकेडेमी अहिले आधा करोड रुपैयाँको हाराहारीमा क्लबले खर्च जुटाउँदै आएको छ । फुटबल प्रशिक्षको लागि प्रशिक्षक पारिश्रमिक, बालकहरुको किताब कापी, स्कुल भर्ना र मासिक शुल्क तथा आवासीय एकेडेमीमा कार्यरत कर्मचारी लगायतलाई रकम खर्च हुदैं आएको क्लबका बरिष्ठ उपाध्यक्ष एवं एकेडेमीका संयोजक पूर्णबहादुर गुरुङ सुनाउँछन् ।

एकेडेमीको लागि आम्दानीको स्रोत
एकेडेमीको शुरुवाती चरणका कष्टदायी रह्यो । सहयोगी हात भएपनि वर्षेनी सहयोग माग्नुपर्ने बाध्यता थियो । वर्षेनी आयोजना गरिने फुटबल प्रतियोगिताबाट बचत रकम एकेडेमीको लागि भरपर्दो आय स्रोत थियो । तर पछिल्ला वर्षहरुमा दर्शकहरुको फुटबलप्रति देखिएको नैराश्यताले क्लबलाई सकसको अवस्थामा पुर्यायो । गेट टिकट, व्यानर प्रायोजक तथा स्वदेश तथा विदेशी संघसंस्था तथा व्यक्तिविशेषको सहयोगले एकेडेमीको खर्च धान्दै आएको छ ।

फुटबल प्रतियोगिताको गेट टिकटबाट सबैभन्दा बढी क्लब १४ औं आहारार गोल्डकपबाट ४९ लाख २६ हजार रुपैयाँ संकलन गरेको थियो । त्यस्तै सबैभन्दा कम बीसौं संस्करणमा केवल ७ लाख ८६ हजार मात्रै संकलन गरेको थियो । यद्यपी यो भन्दा कम सायद पच्चीसौं संस्करणमा भएको अनुमान गरिएको छ । जुन सार्वजनिक गरिएको छैन् ।

गेट टिकटको आम्दानी

फुटबल प्रतियोगिताबाट बचत रकम बाहेक विगत चारवर्षदेखि सुर्यबहादुर केसी स्मृति प्रतिष्ठानले वार्षिक १५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । यो सम्झौताले पनि एकेडेमीको लागि राहत भएको क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्य बताउँछन् । भन्छन—“एकेडेमीको लागि क्लबल र प्रतिष्ठान बीचको सहकार्यले केही सहज भएको छ । सहकार्यकै कारण सहारा एकेडेमीको नामाकरण सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको रुपमा रुपान्तरण गरिएको छ ।” प्रतिष्ठानले गरेको यो सहयोगले अनाथ र असहायक बालकहरुको भविष्य बनाउने दृढ इच्छामा ईटा थपिएको छ ।
एकेडेमीको लागि क्लबले वर्षेनी देउसी भैलो कार्यक्रमबाट पनि जुटाउँदै आएको छ । लामो समय क्लबले देउसी भैलो खेल्यो । झण्डै एकसाता भैलो कार्यक्रमबाट कलाकारको खर्च कटाई वर्षेनी पाँचदेखि आठलाख रुपैयाँ बचत गर्दै आएको थियो । “देउसी भैलो नै एकेडेमीको लागि खर्च जुटाउने माध्यम थियो ।” क्लबका पूर्व अध्यक्ष विक्रम थकाली सुनाउँछन् । उनी थप्छन—“गतवर्ष हामीले च्यारिटी डिनर कार्यक्रम गर्यौं, जसबाट खर्च कटाएर १७ लाख रुपैयाँ बचत गरियो । जुन बचत हामीले एकेडेमीकै लागि खर्च गर्दै आएका छौं ।”

पूर्व अध्यक्ष थकालीका अनुसार देउसीभैलो, फुटबल प्रतियोगिता र च्यारिटी डिनर मात्रै नभई एकेडेमीको लागि विदेशी संघसंस्था र सहाराका भगिनी क्लबले पनि सहयोग गर्दै आएका छन् । सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलियाबाट एकेडेमीको लागि आर्थिक सहयोग मात्रै नभई खेलाडी बन्न अग्रसर बालकहरुलाई जर्सी, बुट लगायतका सामान समेत सहयोग गर्दै आएको उनी बताउँछन् ।

फुटबल प्रतियोगिता
२०५८ सालमा नकाउट फुटबल प्रतियोगिता गर्दै आफनो क्षमता अज्माएको क्लबले पच्चीस वर्षमा निरन्तरता दियो । पहिलो पटक आयोजना गरेको प्रतियोगिता ऐतिहासिक बन्यो । जहाँ आयोजक सहारा र नेपाल पुलिस क्लब बीचको निर्णय टस(गाई की त्रिशुल) मा गरिएको थियो । जुन फुटबल इतिहासमा विरलै हुन्छ ।

पच्चीस वर्षमा आईपुग्दा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगितामा आयोजकसहित स्वदेशी र विदेशी(भारत, बंगालादेश, जापान, अमेरिका र उज्वेकिस्तान)का गरी ५५ क्लबले सहभागिता जनाईसकेका छन् । वर्षेनी आयोजना हुने फुटबलले पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा दिदैं आएको छ । एउटा क्लबमा खेलाडी तथा अफिसियल गरी २५ जना आउने गर्छन् । खेलाडीको दैनिक भत्ता र क्लबलाई म्याच फी समेत क्लबले उपलब्ध गराउँदै आएको छ । जसको सामान्य हिसाबपनि अहिलेसम्म एकअर्ब भन्दा बढीको आर्थिक कारोबार भएको देखिन्छ ।

खेल र गोल
क्याराभान बाहेक सहाराले आयोजना गरेको आहा हुदैं आहारारा पोखरा गोल्डकपमा २५१ खेलको कोशेढुंगा पार गरिसकेको छ । सहाराले क्याराभानसहित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण फागुनको ९ गते विधिवत टुग्याउँदा सहारा क्लबले उपाधि रक्षा गरेको थियो ।
दुईसय ५१ खेल सकिदाँ सहभागिता टिमहरुले ६२९ गोल गरेको तथ्यांक छ । गोल पेनाल्टी सुटआउट बाहेक हो । यो तथ्यांक हारजित हुने क्लबहरुको कुल गोलसख्या हो । प्रतिखेल दुई दशमलव ५ गोल औसत देखिन्छ । पच्चीसौं संस्करणसम्म आईपुग्दा सहारा क्लबले पाँच सँस्करण बाहेक बाँकी प्रतियोगितामा बाह्रवटै टिमको सहभागिता रहेको तथ्यांक छ ।

नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै आएकोमा दुईमत नहोला । त्यसैले त सहारा क्लबको “मन बचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने नारालाई फुटबल प्रतियोगिता मार्फत सिद्ध गर्दै आएको छ ।