ब्रिजेस र कृतन च्याम्पियन

- आईतबारदेखि विद्यार्थी लक्षित निशुल्क समर क्याम्प

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


पोखरा-कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार पोखरा रंगशाला टेबल टेनिसको हलमा जुनियर तथा मेन्स सिंगल टेबल टेनिस लिग प्रतियोगिता सम्पन्न भएको छ ।

गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीका अनुसार टेबल टेनिस खेलको विकास र विस्तारको लागि जिल्ला संघले गतवर्षदेखि मासिक रुपमा लिग आयोजना गर्दै आएको छ । साउन तेस्रो शनिबार(१६ गते) आयोजना गरिएको जुनियर यु १५ लिग तर्फको प्रतिस्पर्धामा ब्रिजेस सुनार प्रथम, सनिस बस्नेत द्धितीय र अनमोल गुरुङ र विधान पराजुली तृतीय भएका छन् ।

मेन्स सिंगल तर्फ कृतन थापा, दिपनिसान शाही, प्रकाश वाग्ले र खुमबहादुर कार्की क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । यु १५ का विजेताले नगद ६ सय ४ सय र दुई दुई सय रुपैयाँ प्राप्त गरे । मेन्स सिंगल तर्फका विजेताले १५ सय, एक हजार र तीन तीन सय रुपैयाँ प्राप्त गरेको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतमराज लामाले जानकारी दिए ।

संघले आईतबारदेखि(साउन १७ गतेदेखि) १५ दिने समर टेबल टेनिस क्याम्प शुरु गर्ने जनाएको छ । सबै उमेर समूहका खेलाडीहरुले निशुल्क प्रशिक्षण लिन पाउने छन् । संघले विशेष गरी विद्यार्थी लक्षित गर्दै टेबल टेनिसको क्याम्प शुरु गरेको जिल्ला अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन दैनिक एक घण्टा प्रशिक्षण गराईने छ । समर क्याम्पमा ३० जना जति खेलाडीहरुको सहभागिता रहने विश्वास संघले लिएको छ ।

संघसँग ९टा टेबल टेनिस बोर्ड छन् । ४ वटा बोर्डमा प्रशिक्षण गराईने छ । समर क्याम्पमा सहभागि विद्यार्थीहरुलाई सागर धिताल, अनुष कुँवर, दिपकराज गिरी, किसन जिसीले प्रशिक्षण गराउने संघले जनाएको छ । पोखरा महानगर टेबल टेनिस संघले पनि टेबल टेनिस लिग प्रतियोगिता र समर क्याम्पलाई सहयोग गरेको छ ।

तस्बिर फाईल