आर्मीलाई अवसरसँगै चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १३ गते २०७७ मा प्रकाशित


आर्मी क्लब

काठमाडौं-नेपाली फुटबलमा विभागीय टोलीको प्रदर्शन उच्च छ । त्यसमा पनि अझ नेपाल आर्मीको फुटबल छवि गर्विलो छ । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी) बाट केही दिन अगाडि मात्र एएफसी लाइसेन्स प्राप्त गरेको छ ।

ए डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा एक मात्र क्लबले (आर्मी) एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । पाएको मान्यतालाई जोगाउनलाई पक्कै सहज छैन । कस्तो तयारी र स्तर आवश्यक हुन्छ त ?

कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतार चढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो । त्यसमा पनि यो वर्ष कोभिडले नेपाली फुटबललाई दयनीय अवस्थामा पुर्यायो । एएफसीका प्रतियोगितामा बलियो चुनौति दिँदा दर्शकको वाह वाह बटुल्ने गरेको नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन । कहिले विनाशकारी महाभूकम्पत कहिले फुटबल भित्रको आन्तरिक किचलोले नेपाली फुटबल भूमरीमा फस्यो ।

विभागीय टोली हुनको अर्थले आर्मीले एएफसीको लाइसेन्स पाउन सक्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता चुनौति हुने फुटबलका विश्लेशक सञ्जीव मिश्र बताउँछन् ।
फुटबल विकासका लागि शीर्ष डिभिजन लिग खेल्ने क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्दै फुटबल अगाडि बढाउने हेतु राखेको एएफसीले नेपालको एक मात्र क्लब त्रिभुवन आर्मी क्लबलाई मान्यता दिँदा अन्य शीर्ष डिभिजनका क्लबले मापदण्ड पूरा हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वीकारे ।

विभागीय टोली त्रिभुवन आर्मी पछिल्लो पटक सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता हो । केही मोफसलका प्रतियोगितामा उपाधि जित्दै अन्य क्लबलाई बलियो चुनौति दिन आर्मी क्लबलाई अन्तर्राष्ट्रियस्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन । त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि समावेश भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् ।

जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुन बलियो पक्ष हुनेछ । अन्य क्लबलाई भन्दा आर्मीलाई साख जोगाइ राख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप प्रेरणा र हौसलाका पाटा हुन । पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्नु कडा परिश्रम जरुरी हुन्छ । यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढ संकल्पको खाँचो छ ।