संकटा मकवानपुर गोल्डकपको क्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २९ गते २०७७ मा प्रकाशित


संकटा विरुद्ध बल अगाडि बढाउँदै नेपाल पुलिस क्लबका खेलाडी ।

हेटौंडा-नेपाल पुलिस क्लबलाई १—० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार ३१ औं मिनेटमा विदेशी खेलाडी एकियो कालेले गोल गरेका थिए । नेपाल पुलिस क्लबको खेल उत्कृष्ट रहे पनि गोल गर्नबाट चुकेपछि संकटा अन्तिम आठमा प्रवेश गर्यो । गोल गर्ने मौका पुलिसले थुप्रैपटक गुमाएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका नितिन थापा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपिया प्राप्त गरे । संकटाले सोमबार मच्छिन्द्र क्लब काठमाडौंको सामना गर्नेछ ।

पराजित टोली पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले ७ खेलाडी बाहिर रहे पनि क्लबमा रहेका खेलाडीले उत्कृष्ट खेल खेलेको बताए । संकटा प्रशिक्षक राजेश तुलाधरले आफ्नो रणनीतिअनुसार खेलेकाले जित हासिल गरेको बताए । आइतबारको खेल बागमती युवा क्लब सर्लाही र नेपाल एपीएफ क्लबबीच हुनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाउनेछन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गर्ने भएको हो । व्यक्तिगत् विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार व्यबस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ६ वटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाएका छन् । विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, ‘ए’ डिभिजन क्लबहरु जावलाखेल युथ क्लब र संकटा क्लब हेटौंडामा खेल्नेछन् । आयोजक हेटौंडा रिगल रिसोर्ट, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनले गोल्डकपमा सहभागि छन् ।

‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ नाम दिइएको राष्ट्रिय फुटबल प्रतियोगिताको यो तेस्रो संस्करण हो । दश वर्षअघि हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता यही हो । २०६२÷०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा हेटौंडामा पहिलोपटक गोल्डकप गरिएको थियो ।

विभिन्न प्रायोजकको नाममा सञ्चालन हुFदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० स्थानीय निकायले सहयोग गरेका छन् । सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपिया सहयोग गरेको छ ।

प्रतियोगिता कोरोना भाइरस संक्रमण कारण स्थगित भएको थियो । जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो । प्रतियोगिता फाइनल चैत ७ गते शनिबार हुनेछ ।