चेक रिपब्लिकले जित निकाल्दा प्याट्रिक नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित


एजेन्सी- प्याट्रिक शिक चम्किएपछि चेक रिपब्लिकले युरोकप–२०२० मा सोमबार स्कटल्यान्डविरुद्ध २–० को रोमाञ्चक जित निकालेको छ ।

सन् १९९८ पछि पहिलो पटक युरोकप फुटबल खेलेको घरेलु टोली स्कटल्यान्डमाथि २–० को रोमाञ्चक जित निकाल्दै चेक रिपब्लिकले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
ह्याम्पडेन पािर्कमा भएको खेलमा चेक रिपब्लिकले पहिलो हाफमा पहिलो र दोस्रो हाफमा दोस्रो गोल गरेको हो । सन १९९८ पछि स्कटल्यान्ड युरो कप २०२० मार्फत प्रमुख प्रतियोगितामा पुनरागमन गरे पनि सुरुआत राम्रो हुन सकेन ।

१९९८ मा स्कटल्यान्ड फ्रान्समा भएको विश्वकप खेलमा मोरक्कोविरुद्ध ३–० ले पराजित भएपछि प्रमुख प्रतियोगितामा छनोट हुन असफल रहेको थियो । यस अघि यी दुई टोली सन २०१९ मा युइएफए नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए । जसमा स्कटल्यान्डले बाजी मारेको थियो ।
समूह ‘डी’ मा रहेको चेक रिपब्लिकलाई जित दिलाउनका लागि प्याट्रिक शिकले ४२औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए ।

यससँगै चेकरिपब्लिकले पछिल्ला ६ युरोकप खेल मध्ये पहिलो हाफमा गोल गर्दै सुरुआती अग्रता निकालेको हो । यस अघि २०१२ मा ग्रिसविरुद्ध पहिलो हाफमा गोल गर्दै सुरुआती अग्रता निकालेको थियो । सुरुआतबाट नै स्कटल्यान्डलाई दबाब दिएर खेलेको चेक रिपब्लिकले ५२ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । चेक रिपब्लिकका गोलकिपर अगाडि बढेको मौकामा प्याट्रिकले मैदानको लगभग मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

राष्ट्रिय टोलीका लागि २७औं खेल खेलेका प्याट्रिकले सोमबार दुई गोल गर्दा व्यत्तिगत करियरमा १३ गोल पूरा गरेका छन् । त्यसपछि खेलमा फर्किन संघर्ष गरेको स्कटल्यान्डका केही राम्रा अवसरलाई चेक रिपब्लिकका गोलकिपर टोमस भाक्लिकले बचाउँदै विफल बनाउँदा स्कटल्यान्ड निराश हुन पुगेको थियो ।

चेक रिपब्लिकविरुद्ध प्रतिस्पर्धा गरेको स्कटल्यान्डका गोलकिपर डेभिड मार्सल राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्ने दोस्रो पाका खेलाडी भएका छन् । ३६ वर्ष १ सय १ दिनको उमेरमा मार्सलले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका हुन । यस अघि जिम लिंकटनले १९९८ को विश्वकपमा ३९ वर्ष हुँदा राष्ट्रिय टोलीबाट खेलेका थिए ।

यस अघि पहिलो हाफमा स्कटल्यान्डले पनि गोलको केहि अवसर बनाएको थियो । तर, स्कटल्यान्डले मौकालाई सदुपयोग गर्न चुकेको थियो भने चेक रिपब्लिकका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगे चेक रिपब्लिकले आफ्नो पहिलो खेल स्पष्ट जित निकाल्दै वर्षदिन पछि धकेलिएको युरोकप २०२० मा सुखद सुरुआत गरेको छ भने स्कटल्यान्डले घरेलु मैदानमा पराजयबाट प्रतियोगिताको थालनि गरेको छ ।

स्पष्ट अंक जोडेको चेकरिपब्लकले आगामी खेल पहिलो खेल गुमाएको क्रोएसिया तथा अंक गुमाएको स्कटल्यान्डले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । यस आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै युरोकपमा सुखद सुरुआत गरेको थियो ।