गोमेजको गोलमा अर्जेन्टिनाको साँघुराे जित

- उरूग्वे चिलीसँग बराबरीमा राेकियाे

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०७८ मा प्रकाशित


एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजत गर्दा अर्को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन ।

यससँगै अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

अर्जेन्टिनाले जित निकाल्दा एलेजेन्ड्रो गोमेजले १०औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे ।

यस्तै ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १–१ गोलको बराबरीमा रोकिएका हुन ।

खेलको २६औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा अग्रता बनाएपनि चिलीले खेल जित्न सकेन । पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडालको आत्मघाती गोलले उरुग्वे र चिली १–१ को बराबरीमा रोकिए ।

जित निकालेको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ ।

पाराग्वे तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।