
काठमाडौं- दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले अर्को महिना एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत हङकङ र फिलिपिन्स सँग खेल्दै छ । बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाको लक्ष्यलाई लिएर नेपाली टोलीले ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मुख्यालयको मैदानमा तयारीलाई तीब्रता दिइरहेको छ ।
सुरुआतमा नेपालमा आयोजना हुने भनिएको छनोट खेल कोरोनाका कारण उज्वेकिस्तानमा तय भएको छ । घरेलु मैदानमा हुने आशाका साथ नेपाली टोलीले हौसलाका साथ तयारी गरेको थियो । तर अन्तिम कोरोनालाई कारण देखाउँदै प्रतियोगिताको स्थल परिवर्तन हुँदा खेलाडी केही निराश भएका थिए । यद्यपि उनीहरुले त्यो निराशापनलाई शक्तिमा बदल्दै इतिहास रच्ने लक्ष्यमा हुनेछन् ।
पहिलो पटक विदेशी प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । नयाँ प्रशिक्षक ग्यारी फिलिप्सले सिमित खेलाडीबाट छनोट प्रतियोगिताकै लागि मंगलबार घोषणा भएका २३ खेलाडीलाई समेटेका छन् । अनुभवि र नयाँ अनुहार उस्तै उस्तै रहेको छ । उनी बीचको समिश्रणबाट प्रशिक्षक फिलिप्स नतिजाको खोजिमा रहेका छन् । त्यसका लागि प्रशिक्षक फिलिप्स आत्मविश्वासी समेत रहेका छन् ।
‘सिमित खेलाडीबाट छनोट भएका खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । छनोट खेल नेपालका लागि एउटा मौका पनि हो । युवा र अनुभवि खेलाडीको समिश्रण रहेको छ,’ मुख्य प्रशिक्षक ग्यारि फिलिप्सले भने, ‘राम्रो खेल्दै प्रमाणि गर्ने मौका अहिलेको टोलीलाई मिलेको छ । प्र्रशिक्षणको क्रममा धेरै खेलाडीको स्तर र खेलमा सुधार देखिएकाले छनोट खेल राम्रो हुनेमा म विश्वस्त छु ।’
त्यसो त अहिले टोलीमा अनुभवी खेलाडी सावित्रा भण्डारी भने हुने छैनन् । दक्षिण एसियाकी प्रभावशाली खेलाडी सावित्रा घुँडाको शल्यक्रिया गर्न कतारमा रहेकी छिन् । सावित्रा भण्डारी विना टोली राम्रो नतिजाका निकाल्ने लक्ष्यका साथ मिहिनेत गरिहेको कप्तान रेनुका नगरकोटीले बताइन ।
‘टोलीमा प्रभाव पार्ने खेलाडी सावित्रा टोलीमा नभए पनि नयाँ बहिनीहरु आएका छन् । उनको स्थानलाई उनीहरुले न्याय नगरे पनि नतिजाका लागि भने राम्रो गर्ने विश्वास लिएको छु,’ कप्तान नगरकोटीले भनिन, ‘एसियन कप छनोट हाम्रो लागि सुन्दर मौका हो । राम्रो गर्दै एसियन कपमा छनोट हुने लक्ष्य राखेर तयारी गरिरहेका छौं । बलियो प्रतिद्वन्द्वी भए पनि राम्रो नतिजाका लागि खेल्छौं ।’
सिमित खेलाडीबाट घोषणा भएको टोलीले छनोट खेलमा राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक ग्यारी फिलिप्स आत्मविश्वासी देखिन्छन् । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला टोलीले छनोट खेल हङकङ र फिलिपिन्ससँग खेल्न लागेको हो । जुन नेपाली टोलीका लागि अनुभव बटुल्ने ठूलो मौकाको रुपमा हेरिएको छ । नयाँ र अनुभवि खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले थपिन ।
मुख्य प्रशिक्षक फिलिप्सले गत मंगलबार घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन । उमेर समूहका प्रतियोगितामा कप्तानीको जिम्मेवारी सम्हाली सकेकी प्रिति राईले पहिलो पटक राष्ट्रिय टोलीमा अटाउँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् ।
‘यस अघि राष्ट्रिय टोलीको क्याम्प परेको थिएँ । अहिले राष्ट्रिय टोलीमा नै अटाउँदा खुसी लागेको छ । मिहिनेतको फल बल्ल पाए जस्तो लागेको छ,’ प्रितिले भनिन, ‘सिनियर दिदिहरुसँग टोलीमा पर्दा सुरुआती केही दिन लयमा आउन कठिन भयो । केही दिनपछि सहज भयो । दिदिहरुले अहिले साथ दिनु भएको छ ।’
‘क्लब र राष्ट्रिय टिमबाट खेल्नु फरक हुन्छ । क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्छ तर राष्ट्रिय टिममा खेल्दा मानसिक दबाब हुने रहेछ,’ प्रितीले थपिन, ‘राष्ट्रिय टिममा हुँदा धेरै नयाँ अनुभव लिन सकिन्छ । क्लबमा रहँदा जुन लेभलमा खेल्दै आएका हुन्छौं त्यो राष्ट्रिय टिममा हुँदैन । आफ्नो स्तर माथिल्लो बनाएर खेल्नु पर्छ ।’
क्लब र राष्ट्रिय टोलीमा अटाउनु फरक भएको भन्दै प्रितिले छनोट प्रतियोगितामा शत प्रतिशत दिएर खेल्ने बताइन् । पहिलो रोजाईमा पर्ने उनको विश्वास छ । यस्तै अर्की खेलाडी सुरु लिम्बूले विदेशी प्रशिक्षकले फिटनेस सँगै बल पोसेसन राखेर खेल्न अभ्यास गराइरहेको बताइन् ।
छनोट प्रतियोगिता अन्तर्गत समूह ‘एफ’ मा रहेको नेपाल जेएआर स्टेडियममा पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदै छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…