पहिलो खेलमा द राइजिङ क्लब र स्काई गोल्स भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २२ गते २०७८ मा प्रकाशित



काठमाडौं । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ड्रबाट सार्वजनिक गरिएको तालिकाबाट द राइजिङ क्लब र स्काई गोल्स काठमाडौं प्रतिस्पर्धा गर्ने भएका हुन । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच खेल हुनेछ ।

असोज २ गते देखी २२ गते सम्म पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोलीले सहभागिता जनाउँदै छन् । जसमा बागमती प्रदेशबाट चारसहित अन्य प्रदेशबाट छ टोलीको सहभागिता हुनेछ । खेल २०÷२० मिनेटको हुनेछ ।

खेल राउन्ड रोबिन लिग ढाँचामा आयोजना हुने छ । एक आपसको प्रतिस्पर्धा पछि शीर्ष चारमा अटाएका टोलीले इलिमिनेटर क्वालिफायर खेल्ने छन् । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौथो स्थानका टोलीविचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । २१ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट पिभोट (मिडफिल्डर)÷आला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार पाउने आयोजकले जनाएको छ ।