माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १६ गते २०७८ मा प्रकाशित


काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १-0 को ऐतिहासिक जित निकालेको हो ।

पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि नेपालले एेतिहासिक जित निकाल्न सफल भएकाे हाे ।

यो जितसंगै नेपालले तीन अंक जोडेको छ । खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

यस अघि मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १ – 0 गोल अन्तरले हराइसकेको छ ।

यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदला समेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३-० ले पराजित भएको थियो ।

नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो ।

यस्तै नेपालले पहिलो पल्ट साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराएको हो । नेपालले यस अघि साफमा माल्दिभ्सलाई हराउँन सकेको थिएन । 

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

No description available.

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।