ललितपुर र धनगढी राष्ट्रिय लिगमा छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित



काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । दुई टोलीको टुङ्गो लागेसँगै राष्ट्रिय लिगमा खेल्ने सबै ८ टोली पूरा भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा तीन वटा विभागीय टिम आर्मी, पुलिस र एपिएफ, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, विराटनगर नगरपालिकाका साथै ललितपुर महानगर पालिका र धनगढी महागनरपालिकाले खेल्नेछन् ।

शुक्रबार भएको दिनको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० तथा धनगढीले गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाएका हुन । उपमेयर कप प्रतियोगितालाई छनोट प्रतियोगिताका रुपमा हेरिएको खेलमा ३१ टोलीको सहभागिता रहेको थियो ।

फाइनल पुगेका दुई टोलीको भिडन्त आइतबार हुने छ । खेल सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन ।