आगामी पुस १३ गते पोखरामा स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता

- स्पेनका पूर्व राष्ट्रिय खेलाडी कासिलास, डेविड भिल्ला लगायतका खेलाडी आउने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरामा आगामी पुस १३ गते स्पेनिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैं छ । स्पानिस फुटबल क्लब(सिपी कासेरेनो) र गण्डकी प्रदेशको टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने पहल कास्की जिल्ला फुटबल संघले गरेको हो । नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता प्रस्ताव भने स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनले गरेको हो । शान्तिका लागि फुटबल भन्ने नारासहित आगामी पुस १३ गते पोखरा र आगामी पुस १५ गते काठमाडौंमा नेपाली राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण खेल हुने तय भएको छ ।

स्पानिस फुटबल क्लबबाट स्पेनका पूर्व राष्ट्रिय खेलाडी डेविड भिल्ला, गोलकिपर कासिलास लगायतका टोली नेपाल आउने फाउण्डेशनका सदस्य सुन्दर थापाले बताए । थापा दुईदिन अघि मात्रै पोखरा आएर पोखरा रंगशाला फुटबल मैदानको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग सम्झौता समेत गरेर काठमाडौ फर्किएका छन् । फाउण्डेशन र समिति बीच बुधबार सम्झौता भएको समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए ।

स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने शुरुदेखि नै पहल कास्की जिल्ला फुटबल संघले गर्दै आएको थियो । संघकै पहलमा आगामी पुस १३ गते पोखरा रंगशालामा गण्डक प्रदेशको टिमसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने संघका अध्यक्ष उज्वल रन्जितले बताए । सदस्य थापाले गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा पुगेर मन्त्री राजीव गुरुङ सँग भेटघाट गर्दै आवश्यक सहयोगको लागि आग्रह समेत गरेका थिए । १५ गते फुटबल खेलेर टोली स्पेन फर्किने कार्यक्रम तय भएको सदस्य थापाको भनाई थियो ।

फाउण्डेशनले नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ(एन्फा)लाई २१ अक्टोबर २०२२ मा पत्राचार गरेको थियो । एन्फाका महासचिव किरण राईले स्पेनका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिताले नेपाली फुटबल विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वाससहित फाउण्डेशनका महासचिव एकराज गिरीलाई पत्रचार गरेका थिए । सचिव राईले नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण प्रतियोगितामा सहभागिता जनाउने पत्र समेत फाउण्डेशनलाई पठाएका थिए । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन भने फाउण्डेशनले नै गरेको छ ।

फाउण्डेशनले शान्तिका लागि फुटबल भन्ने नारा दिदैं बुद्धको जन्मभूमि नेपालबाट अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शुरुवात गर्ने योजना अनुसार आगामी पुस १३ र १५ गते फुटबल प्रतियोगिता आयोजना गरिएको जनाएको छ । नेपालपछि एशियाका अन्य देशमा समेत शान्तिका लागि फुटबल अभियान अगाडि बढाईने सदस्य थापाको भनाई थियो ।