स्पोर्टस अवार्डबाट एकलाख बचत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २५ गते २०८० मा प्रकाशित


पोखरा-गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ ।
मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो । स्पोर्टस अवार्डमा मञ्चले २६ लाख ९९हजार १२ रुपैयाँ विभिन्न शीर्षकमा आम्दानी गरेका जनाएको छ । त्यसैगरी २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो । अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिईएको थियो ।मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरी, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, निवर्तमान महासचिव बिजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, विजय नेपाली लगायतले पोखरा स्पोट्र्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।

सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन । अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोरकुमार गुरुङ घोषित भएका थिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको थियो । यसैगरी पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, कमारु ट्रेडिङ (केल्मी), टेल्जि नेपाल, तमु धिं युके, सहारा युके, सुपर मादी हाइड्रो कम्पनी, नेपाल पर्यटन बोर्ड, मझेरी रिर्सोट एण्ड स्पा, सहारा क्लब पोखरा लगायतले सहयोग गरेका थिए । मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै २०७५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । मञ्चमा ७४ जना सदस्य आवद्ध छन् ।