पोखरा काठमाडौंपछिको अन्तराराष्ट्रिय क्रिकेट भेन्यु– अध्यक्ष चन्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ६ गते २०८० मा प्रकाशित


पोखरा-नेपाली क्रिकेट टोली यतिबेला एशिया कपको तयारीको लागि पाकिस्तान गएको छ । तर यता नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरु भने चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीमै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाएका छन् ।

‘नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दै छ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौंपछिको अन्तरराष्ट्रिय भेन्यु बनाउन प्रतिबद्धता गर्छु’ अध्यक्ष चन्दले भने । नेपाल क्रिकेट संघको चुनावी अभियानले क्रिकेटमा आँच आउन नहुने उनले स्पष्ट पारे । उनले चुनावी सरगर्मी शुरुभईसकेको उल्लेख गर्दै क्यानको चुनावले क्रिकेटका गतिविधिमा आँच आउन नहुने बताए । ‘अध्यक्षको पद व्यक्तिगत होईन । जिम्मेवारी हो ।’ उनले थपे–‘प्रतिस्पर्धा गर्दैगर्दा हामीमा सौहार्दता रहिरहोस ।’

उनले प्रादेशिक क्रिकेट संघ गण्डकीको अधिवेशनलाई सम्बोधन गर्दै पोखरालाई अन्तरराष्ट्रिय भेन्यु बनाउन सकिने बताए । उनले आवश्यक पभेलियन, चेन्जिङ रुम, व्यवस्थित शौचालय तथा भीआईपी बस्ने ठाँउ बनाउनुपर्नेमा जोड दिए । उनले आफैं नेपाल क्रिकेट संघको नेतृत्वमा आए पोखरा काठमाडौंपछिको दोस्रो अन्तरराष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता गरे । पोखरालाई अन्तरराष्ट्रिय भेन्यु बनाएपछि भैरहवाको मैदानमा लिग–२ आयोजना गरिने स्पष्ट पारे ।

अध्यक्ष चन्दले क्रिकेटको गतिविधि अब कछुवा गतिले नहुने दावी गरे । ‘क्रिकेटले देश चिनाएको छ । विश्वकप खेल्ने अवस्थामा छौं । अब कछुवा गतिको क्रिकेट गतिविधिले हुदैन’ उनले भने–‘राजनीतिक दलको पनि क्रिकेटप्रति हेर्ने दृष्टिकोण फरक छ । सत्तापक्ष र प्रतिपक्षले पनि क्रिकेटको विकासमा सहयोग गर्नुपर्छ भन्ने मानसिकतामा छन् ।’ उनले आईसिसीले उपलब्ध गराउने १७ करोड बजेटको ५५ प्रतिशत पुरुष सिनियर टोलीमा खर्च हुने बताए ।

अधिवेशनमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा संस्थागत विकासको आवश्यकता रहेको जिकिर गरे । ‘देशलाई चिनाउने नै खेलकुद हो । यसमा सरकारले लगानी गर्नुपर्छ ।’ उनको भनाई थियो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले पोखरालाई यु–१९ विश्वकप खेलाउने मैदानको रुपमा तयार गर्नुपर्ने उल्लेख गरे ।

उनले पोखरालाई काठमाडौंपछिको क्रिकेटको शहरको विकास बनाउनुपर्नेमा जोड दिए । नेपाल क्रिकेट संघका पूर्व प्रशिक्षक जगत टमटा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।