प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ स्थापना तथा सञ्चालन कार्यविधि पास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २३ गते २०८० मा प्रकाशित


पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ । कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ । कार्तिकभित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ ।

प्रदेशले गण्डकी खेलकुद पदक प्रदान गर्ने निर्णय गरेपनि कहिलेसम्मका खेलाडीलाई पदक वितरण गर्ने भन्ने ठोस निर्णय भने गरिसकेको छैन् । ‘नयाँ र पुराना खेलाडीलाई गण्डकी खेलकुद पदक प्रदान गरिने छ’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले भने–‘कार्यविधि पास भएपछि कार्यन्वयनमा आउँछ । अहिले नै यसलाई दिने नदिने भन्ने विषयमा निर्णय भएको छैन् ।’ उनको भनाई अनुसार गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई पदकको आधारमा ‘गण्डकी खेलकुद पदक’ प्रदान गरिने छ ।
पदकमा खेलाडीले प्राप्त गरेको स्थानकै आधारमा तयार गरिने छ । ‘ पी(प्लेयर) एम(मेडल) लेखिएको हुन्छ । खेलाडीले प्राप्त गरेको पदककै आधारमा १(स्वर्ण), २(रजत) ३(कास्य) र ४ (सहभागि) लेखिन्छ ।’ उनले सुनाए । खेलकुद पदकमा गण्डकी प्रदेशको लोगो समेत राखिने छ । त्यसैगरी खेलाडी बाहेक राष्ट्रिय तथा अन्तराष्ट्रिय आयोजना गर्ने संघलाई (ओ), सहयोगदातालाई (डी–डोनर), पत्रकारिता तर्फ(जे–जोर्नालिष्ट) लगायतको संकेत गरिने छ ।

गण्डकी खेलकुद पदकको लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्टाएको छ । खेलाडी कल्याणकारी कोषमा समेत प्रदेश खेलकुद परिषदले १० लाख रुपैयाँ संकलन गरिसकेको छ । गण्डकी खेलकुद पदक प्राप्त खेलाडीलाई सुविधाको बारेमा समेत कार्यविधिमा उल्लेख गरिएको सदस्य सचिव शर्माले जानकारी दिए । उनले खेलाडीलाई सरकारी अस्पतालको ओपिडीमा शतप्रतिशत छुट, निजी अस्पतालमा २५–३० प्रतिशत छुट, अध्यनन गर्ने खेलाडी(विद्यार्थी)लाई प्याब्सन, एनप्याब्सन तथा हिसानसँग छात्रवृत्तिको लागि समेत छलफल गरिने स्पष्ट पारे । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०, खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० लाई पास गरेको थियो । बैठकले पास गरेको कार्यविधिलाई मन्त्रालयमा पठाइने सदस्य सचिव शर्माको भनाई थियो ।

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको समाजिका विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंम्खडाले बताईन् । विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढने सके खेलकुद अझै प्रभावकारी रुपमा अघि बढन सक्ने उनले उल्लेख गरिन् ।