१४ वर्षपछि जावलाखेल फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०८२ मा प्रकाशित


धन बस्नेत/कास्की

उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । १४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

खेलको ५२ औं मिनेटमा जावलाखेललाई भाग्यले साथ दियो । कुसान गानिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेल फाईनल यात्रा तय गर्न पर्याप्त रह्यो । यद्यपी जावलखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएपनि गोललाई जोगाई राख्यो । र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल त्यसपछिको समय दशजनामा सीमित बन्यो ।

गतवर्षको संस्करण उज्वेकिस्तानी टोली बुल्स एफसीले उपाधि जितेर फर्किएको थियो । सोही टोलीका खेलाडीसहित अन्य खेलाडीलाई समेत सम्मिलित गराई पोखरा उत्रिएको आभा फुटबल क्लबले दोस्रो सेमिफाईनल दर्शनीय प्रदर्शन देखाउन सकेन् । दुई पटक पोष्टमा लागेर फर्किनु नै आभा फुटबल क्लबको अभागी सिद्ध भयो । खेलको १० औं मिनेटमा उमिडजोन करिलोभको प्रहार फष्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो ।
पहिलो हाफकै ४२ औं मिनेटमा करिलोभकै लङ पावरसट बल क्रसबारमा लागेर आउट हुन पुग्यो । एकपछि अर्को प्रहार पोष्टमा लागेर फर्किएपछि आभाको अभागीपन देखिएको थियो । ९० औं मिनेटमा बाबिरस्व सभिरोभको प्रहारलाई जावलाखेलका गोलकिपरले पन्च गर्दै बचाएका थिए ।

खेलको चौथो मिनेटमै जावलाखेलका लागि निकोलसले डिबक्सभित्रबाट हानेको बल क्रसबार बाहिरिएको थियो । आधा घण्टा दश खेलाडीमा समेटिएको जावलाखेलले उपहार गोल बचाई राख्न रक्षात्मक रणनीतिमा उत्रिएको थियो । उज्वेकिस्तानको हरेक प्रयासलाई विफल बनाउन तल्लिन जावलाखेलका विदेशी खेलाडी जोखिडजोन राखिमोभ प्लयेर अफ दि म्याच घोषित भए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनामा आयोजित पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबार फाईनल खेल आयोजक सहारा र जावलाखेल युथ क्लब बीच हुने छ । सहारा र जावलाखेल युथ बीचको फाईनल नयाँ प्रतिस्पर्धीको रुपमा मैदान उत्रिने छन् । जावलाखेल एक पटक फाईनल प्रवेश गर्दा सहारा भने फाईनल प्रवेश गरेको चौथो अवसर हो । विजेताले १४ लाख १ हजार नगदराशीसहित ट्रफी उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।