सदस्य सचिव शर्मा पदमुक्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


पोखरा- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्तिक १८ गते बसेको मन्त्रीपरिषदको बैठकले सदस्य सचिवलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सदस्य सचिवको बर्खास्तसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट अन्योलमा परेको छ ।

“प्रस्तुत विषयमा प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिवको हैसियतमा तपाईले पदीय जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह नगरेको, कार्यसम्पादन सन्तोषजनक नहरेको तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएकोमा सम समेत पेस नगर्नुभएको लगायतका कारणबाट तपाईलाई गण्डकी प्रदेश खेलकुद विकास ऐन, ०७७ को दफा १७ को उपदफ(९) बमोजिम सदस्य सचिवको पदबाट हटाउने गरी गण्डी प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०८३÷०७÷१८ को बैठकबाट भएको निर्णय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गण्डकीबाट यस मन्त्रालयमा प्राप्त भएकोले सोही व्यहोरा जानकारी गराईन्छ ।”

सदस्य सचिवले केही महिना अगाडि गण्डकी पदक वितरण गरेका थिए । त्यही पदकको वितरणको विषयमा आलोचना बढेपछि सदस्य सचिव र गण्डकी सरकार बीच तित्तता बढेको थियो । प्रदेश सरकारले पदक वितरणमा भएको त्रुटिको विषयलाई लिएर सदस्य सचिव शर्मासँग स्पष्टीकरण समेत मागेको थियो । स्पष्टीकरण मागेपछि शर्माले मुख्यमन्त्री तथा विभागीय मन्त्रीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

बर्खास्तको बारेमा सदस्य सचिव शर्मासँग बुझ्दा आफुलाई बर्खास्त गरिएको जानकारी नभएको बताए । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडीको हकहितको लागि पेश गरेको प्रस्ताव अनुसार बजेट विनियोजन नभए आफु पदमा नबस्ने अडान लिएका थिए ।