तेक्वान्दो पुम्से सम्बन्धी गण्डकी प्रदेशस्तरीय प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तेक्वान्दोको प्याट्रन (पुम्से)लाई परिमार्जन गरिएको छ । कोरियाले पुम्सेलाई परिमार्जन गरेपछि कोरियन प्रशिक्षकको उपस्थितिमा पोखरामा पनि नयाँ परिमार्जित पुम्से सम्बन्धी दुईदिने प्रशिक्षण दिईएको छ । तेक्वान्दो पुम्से तर्फको खेल विधालाई प्रदेशमा माथि उठाउन नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा चार दिने प्रदेशस्तरीय प्रशिक्षण गरियो ।

प्रशिक्षणमा नवलपुरका ४ जना, पर्वतका १ जना, म्याग्दीका ३ जना, बागलुङ्गका ४ र कास्कीका २२ जना गरी ३३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा सेकेण्ड डान देखि छैटौं डानसम्मका २९ जना पुरुष र ४ जना महिला खेलाडीहरुले प्रशिक्षण लिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिब रमेश पौडेलले जानकारी दिए ।
प्रशिक्षणमा तेक्वान्दोका प्रशिक्षक, डोजाङ प्रमुख र सिनियर खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुलाई कोरियन प्रशिक्षक क्वाङ योंग दलले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान वितरण गर्दै गण्डकी प्रदेश सांसद मानबहादुर गुरुङले खेलाडीहरुको सिप, क्षमता र अनुभवलाई राज्यले संधै कदर गर्नुपर्ने बताए ।

प्रदेशको खेल स्तर संगै खेलाडीहरुको जीवनस्तर माथी उठाउन गम्भिर भएर लागेको समेत बताउँदै उनले भने–“अब खेलाडीले पाएको पदक र प्रमाणपत्र दराजमा थन्काएर खाडी मुलुक जाने दिनको अन्त्य गर्न तर्फ लाग्ने छौ ।” कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले कास्कीमा झोले संघहरुले खेलकुदलाई बदनाम मात्रै बताउँदै पोखरा रंगशालामा मार्शल आटर््स खेलका छुट्टाइएको ठाउँमा पूर्वाधार बनाउने अठोट गरे । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुम्सेका केन्द्रिय संयोजक कबिराज खडगी, लगाएतले अ–आफ्ना भनाई राखेका थिए ।