१८ औं एसियाली खेलकुद-खेलाडीलाई ऋण, राष्ट्रलाई पदक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १५ गते २०७५ मा प्रकाशित


सन्तोष पोखरेल(खेलाडी न्युज)-प्यराग्लाइडिङ उडानमा ग्लाइडर, हार्नेस, प्यारासुट, जिपिएस, रेडियो सेट, ब्यारोमिटर, इलोक्ट्रोनिक कम्पास, पञ्जा, हेल्मेट लगायतका साधन कम्तिमा चाहिन्छन् । एकसेट यी सामान किन्दा झन्डै ७ लाख रुपैयाँ खर्च लाग्छ । खेलाडी (पाइलट)का अनुसार धेरैथरि सामाग्री एकैपटक प्रयोग गरेर उडान गर्नुपर्ने भएकोले ती सामानको जोहो गर्नुपर्दा प्याराग्लाइडिङ उडान निकै नै खर्चिलो मानिन्छ ।

इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागि नेपाली प्याराग्लाइडिङ खेलाडीले यी सबै सामाग्री व्यक्तिगत खर्चमा जोहो गरेका थिए । क्रसकन्ट्री र एक्यूरेसी विधाका लागि छुट्टाछुट्टै सेट यी खेलाडीले जुटाएका थिए । दुईसेट सामाग्री किन्दा झन्डै १४ लाख रुपैयाँ एकैजनाले खर्चेका छन् । सरकारले एसियाली खेलकुदमा सहभागि भएका प्याराग्लाइडिङ खेलाडीलाई बन्दसत्रमा बस्न खान दिएपनि उडान उपकरण उनीहरु आफैलै जुटाएका थिए । व्यक्तिगत खर्चमा महंगा उपकरण किनेर एकमात्र पदक (रजत) जिताएर राष्ट्रकै नाम उँचो बनाउँदा सहभागि खेलाडीको थाप्लोमा भने ऋणको गह्रौ भार उत्तिकै छ ।

मुलुकको लागि दुईदशक अन्तरालमा पदक दिलाएको प्याराग्लाइडिङले डेब्यू संस्करणमै इतिहास बनाएको छ । मुलुकले पदक इतिहास रचेपनि खेलाडीको ऋणको भार भने एकरत्ति घटेको छैन । ‘ऋण खोजेर किनेको उपकरणले हामीले मुलुकलाई पदक दिलाएका छौ,’ इन्डोनेसियामा रहेका प्याराग्लाइडिङ खेलाडी विजय गौतमले नागरिकसँग भने, ‘बाहिरबाट हेर्दा केही देखिन्न, तर, यो निकै नै महंगो खेल हो । साहसिक त छँदैछ, प्राविधिक रुपमै महंगो पर्छ ।’
गौतमले यही प्रतिश्पर्धामा सहभागि हुनकै लागि उपकरण खरिद गर्न रकम जोहो गर्ने क्रममा दशलाख रुपैयाँ सहकारीबाट ऋण लिएका छन । ‘मैले दुई सेट सामाग्री किन्दा करिब १४ लाख रुपैयाँ खर्च गरेको छु । केही पैसा आफैसँग थियो, अपुग रकम सहकारीमा जग्गा धितो राखेर ऋण लिए,’उनले भने, ‘राष्ट्रको नाममा उपाधि त भिœयाइयो । मेरो ऋण भने एक किस्ता पनि घटेको छैन ।’ उडान सुरु भएको दुइदशक अवधिमा बल्ल सरकारले प्याराग्लाइडिङलाई आधिकारिकता दिएर एसियाली खेलमा सहभागिता दिलाएको अवसर चुकाउन नचाहेरै ऋणको भार खेपेर भएपनि उपकरण जोडेर प्रतिश्पर्धा गर्न पुगेको उनले बताए ।

‘हामीले आफनो दायित्व पुरा गरेका छौ । स्वर्ण पदक लक्ष्य भएपनि केही समस्याले सकेनौ । कम्तिमा २ दशकसम्मको उपाधिविहिन यात्रा तोड्न हाम्रो पहिलो सहभागिता नै काफि रह्यो,’ उनले भने, ‘राज्यले हेर्ला नहेर्ला आफ्नै ठाउँमा छ । तर, हामीले आफ्नो क्षमता देखाएका छौ । राज्यले यसबारेमा पक्कै बुझ्नेछ ।’ यसअघिका अन्तर्राष्ट्रिय सहभागितामा सरकारले आधिकारिकता नदिएकाले त्यसको खर्च आफैले बेहोरेको उनले बताए । ‘अरु खेलका विधामा आवश्यक सामाग्री राज्यले किनिदिन्छ । अनि सस्तो पनि हुन्छन, तर, प्याराग्लाइडिङको पुरै खर्च खेलाडी आफैले गरेका हुन,’ उनले भने, ‘प्याराग्लाइडिङ उपकरण निकै महंगो पनि हुन्छन ।’

एसियाली खेलकुदमै सहभागि अर्का खेलाडी विशाल थापाले पनि उपकरणको खर्च जुटाउन १० लाख रुपैयाँ ऋण लिएको बताउँछन् । ‘मसँगै एकैपटक त्यत्तिधेरै रकम थिएन । केही रकम अभिभावकले जुटाइदिनुभयो । अपुग रकम बैंकबाट लिएको छु,’ थापाले भने, ‘घरको जग्गा धितो राखेर लिएको ऋणले सामान किनेर यहाँ उड्न आएको हुँ । जे भएपनि देशका लागि नाम राख्यौ, अहिले त ऋणको भन्दा पदकले गर्व लागेको छ ।’

दशलाख रुपैयाँ रकम एकैपटक तिर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘सरकारले बल्ल प्याराग्लाइडिङलाई मान्यता दिएको छ । अहिलेसम्म हेला भयौ, अब माया पाउँछौ की,’ सरकारप्रति आशावादी रहेका थापाले भने, ‘अब पोखरा फर्केर व्यावसायिक उडान गरेर किस्ता तिर्ने हो । एकैपटक यतिधेरै ऋण तिर्ने क्षमता मसँगै छैन ।’ एसियालीमा सहभागि महिला खेलाडी सबिता तामाङको पनि अवस्था उस्तै छ । ‘केहीहजार वा एक–दुई लाख रुपैयाँले किन्ने क्षमता राख्दैन । एकैपटक लाखौं रुपैयाँ खर्च गर्ने क्षमता थिएन, अनि बैंक र सहकारीबाट ५–५ लाख रुपैयाँको दरले ऋण लिएकी छु,’ उनले भनिन, ‘पछि कमाएर तिर्नै जाने हो । दुईवटा विधामा प्रतिश्पर्धा गरेका उनीहरुले एकसेटले मात्र नपुग्ने भएपछि सबैले दुईसेटका लागि उपकरण जुटाएका थिए ।

‘एउटै ग्लाइडरको मात्र करिब ३ लाख रुपैयाँ पर्छ । अरु सामानको मुल्य समेत जोड्दा एकसेट तयार पार्दा झन्डै ७ लाख रुपैयाँ परेको छ । दुईसेटका लागि झन्डै १४ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भनिन, ‘यो त निकै महंगो खेल पो हो । हेर्दा सानो ग्लाइडरको भरमा उडेपनि यसको मुल्य र सहयोगी उपकरणले गर्दा निकै नै महंगो छ ।’
इण्डोनेसिया पुगेको प्याराग्लाइडिङ टिमलाई प्रशिक्षण दिलाएका सानोबाबु सुनुवार भन्छन, ‘खेलाडीले थाप्लोमा ऋणको भारी बोकेर राष्ट्रलाई पदक दिलाएका छन । अब सरकारले केही गर्नुपर्छ ।’ अनुभवी पाइलट सुनुवारका अनुसार प्याराग्लाइडिङ निकै नै महंगो खेल हो । जो कोहीले लगानी जुटाएर सामाग्री तयार पार्न सक्दैन । उनका अनुसार एउटा ग्लाइडरको आयु झन्डै ८ सय घण्टा मात्र हुन्छ । प्रतिश्पर्धाका सहभागि सबैले नयाँ ग्लाइडर किनेर लगेका छन् । त्यसले गर्दा पनि खेलाडी आर्थिक चपेटामा परेको सुनुवारको भनाई छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइङि संघका महासचिव समेत रहेका अफिसियल शैलेन्द्र रावत पनि खेलाडीको थाप्लोमा ऋणको भार रहेको बताउँछन् । ‘ऋण काढेर खेलाडी यहाँ खेल्न आएका छन् । राष्ट्रको नाममा पदक आएको छ, तर, ऋण खेलाडीको थाप्लोमा छ,’ रावतले भने, ‘राज्यले अहिलेसम्म चिनेको भए यो अवस्था नआउन पनि सक्थ्यो ।’
रावतका अनुसार इन्डोनेसिया पुगेका सबैजसो खेलाडी सापटी र ऋण लिएर उपकरण किनेका छन् । ‘कसैले पनि गोजीमा १५ लाख पोको पारेर राख्दैन, एकैपटक निकाल्न पनि सक्दैन,’ उनले भने, ‘यहाँ आएका सबै खेलाडी ऋणको भारमा छन । धेरै र थोरै ऋण भन्ने मात्र हो ।’ अहिलेसम्म राज्यले प्याराग्लाइडिङलाई व्यावसायको दर्ज मात्र दिँदा यो समस्या आएको उनले बताए ।

‘अहिले पनि हामी दोहोरो मारमा छौ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले उडानको अनुगमन गर्छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलको दर्जा बल्ल दिएको छ,’ रावतले भने, ‘अब हामीलाई कसले अनुगमन गर्ने भन्ने छैन । प्राधिकरण र राखेपबीच समन्वय नहुँदाको मारमा हामी छौ ।’ उनले प्याराग्लाइडिङको उद्देश्य मुलुकका लागि मात्र भएको बताए ।- nagarik daily.