आर्मीको विजयी सुरुआत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७७ मा प्रकाशित


शतक पुरा गरेपछि त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी ।

काठमाडौं-विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको उदघाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दैै सुखद शुरुवात गरेको हो । राजेश पुलामीको अलराउन्ड प्रदर्शन र कप्तान विनोद भण्डारीको शतकीय इनिङ्समा आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउन सफल भएको हो । आर्मीका कप्तान विनोद भण्डरीको घरेलु प्रतियोगितामा पहिलो शतकीय इनिङ्स खेल्दा आर्मीले गण्डकी प्रदेशसामु २ सय ८८ रनको बलियो लक्ष्य दिएको थियो । विनोदको घरेलु क्रिकेटको जुनसुकै संरचनामा यो पहिलो शतक थियो ।

जवाफी ब्याटिङ गरेको गण्डकीले १ सय ८९ रन जोड्दै गर्दा सबै विकेट गुमाउन पुग्यो । खेलमा गण्डकीका समिर कडेलले अर्थसतकीय पारी खेल्दा ओपनर अर्जुन कुमाल ३६ तथा दीपक डुम्रेले २६ रनको व्यक्तिग स्कोर बनाउँदा अन्य ब्याट्सम्यान आर्मीका बलर सामु खुलेर खेल्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्नका लागि आर्मीका राजेश पुलामीले सर्वाधिक ५ विकेट हात पार्दा भीम सार्कीले ३ तथा रोहित पौडेले र आकाश चन्दले समान १÷१ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धातिर ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो । ओपनर राजु रिजाल र हरे कृष्णा झाले पहिलो विकेटका लागि राम्रो साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए । सतकीय पारी खेलेका भण्डारीले छैटौं विकेटका लागि लोकेश बमसँग १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । भण्डारीले ७६ बलमा ९ चौका र पाँच छक्काको मद्दतमा १ सय ११ रन बनाए ।

निकै आकर्षक ब्याटिङ्ग गरेका लोकेशले पनि आर्मीको लागि आफ्नो पहिलो खेलमा ३० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४२ रनको पारी खेले । भण्डारीले राजेश पुलामी मगरसँग पाचौं विकेटका लागि ७३ रन पनि जोडेका थिए । राजेशले ५२ बलमा चार छक्का प्रहार गरे । राजेशले ७१ बलमा चार चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । गण्डकीका लागि बिपिन खत्री र बिशाल पौडेलले २–२ विकेट लिएका थिए । आर्मीका लागि रोहित कुमार पौडेल १० र भिम सार्कीले १५ रनको योगदान गरेका थिए । पहिलो खेल गुमाएको गण्डकीले दोस्रो खेल माघ ५ प्रदेश १ सँग मुलपानीमा खेल्ने छ भने आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानी नै प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा शनिबार अर्को विभागीय टोली एपिएफ र प्रदेश नं १ बीच प्रतिसपर्धा हुने तालिका छ ।