कोषाध्यक्षको आर्थिक प्रतिवदेन सुनेकै भरमा पास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १४ गते २०७७ मा प्रकाशित


कास्की जिल्ला क्रिकेट संघको तेस्रो साधारण सभा

पोखरा-तीन वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा शुक्रबार गरियो । साधारण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने कार्यसमिति तथा साधारण सदस्यले अध्ययन गर्न पाएनन् । कोषाध्यक्षको आर्थिक प्रतिवेदन नै कार्यसमिति तथा साधारण सदस्यलाई दिईएन् । कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले आफनो प्रतिवेदन बाचन गरे । बाचन गरेको प्रतिवेदनलाई कार्यसमितिका सदस्य र साधारण सदस्यले एकोहोरो सुने । त्यसपछि ताली बजाएर पास गरे ।

तीन वर्षको अवधिमा क्रिकेट संघले गरेको आर्थिक गतिविधि गहन रुपमा केलाउने अवसर भने कार्यसमिति तथा साधारण सदस्यले पाएनन् । कोषाध्यक्षको प्रतिवेदनमा साधारण सदस्यको जिज्ञासा मेटाउन अवसर समेत हुन पाएन् । आम्दानी र खर्च कोषाध्यक्षले फररर सुनाए । उपस्थिति नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत दत्तचित्त भएर सुनिरहे । कोषाध्यक्षको प्रतिवेदन कसैले पनि पाएनन् ।

तीन वर्षपछि भएको साधारण सभालाई धेरैले चासो र जिज्ञासा राखेका थिए । दुई वर्ष अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगायो । प्रतिबन्ध फुकुवा भएपछि कास्की जिल्ला क्रिकेट संघले गत भदौमा साधारण सभा गर्ने निधो गरेको थियो । गत चैत ११ गतेदेखि कोरोना भाईरसको महामारीसँगै शुरुभएको लकडाउनले भदौम ागर्ने निर्णयलाई स्थगित गरिएको थियो । प्रतिवेदन अरुलाई दिन नसक्नु कोषाध्यक्ष गैर जिम्मेवार देखिएको ठहर समेत सभामा उपस्थित सदस्यहरुले गरेका थिए । यद्यपी कोषाध्यक्ष गुरुङले आर्थिक पारदर्शीताको लागि भने प्रष्ट्याएका थिए ।

मैदानको उपयोग गर्दै संघको आम्दानीको स्रोत बनाउने ध्येय कास्की जिल्ला क्रिकेट संघले राखेपनि तीन वर्षको आयव्ययको विषयमा प्रतिप्रश्न गर्ने अवसर नै सदस्यहरुले पाएनन् । मैदानमा विशेष गरी आमन्त्रित इण्डो– नेपाल मैत्रीपूर्ण क्रिकेट हुदैं आएको छ । संघ बाहेक अन्य निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताबाट संघले मैदानको शुल्क उठाउँदै आएको छ । यद्यपी उठाइएको शुल्कको कोषाध्यक्षले सार्वजनिक गरेपनि प्रतिवेदन नपाउँदा भने औचित्यहीन देखिएको साधारण सभामा उपस्थिति सदस्यको गुनासो थियो । ‘कोषाध्यक्षको प्रतिवेदन केवल सुनेर चित्त बुझाईयो । हातमा लिएर पढ्ने मौका पाईएन् । किनभने कोषाध्यक्षको प्रतिवेदन भने कसैलाई पनि दिईएन् ।’ साधारण सभामा उपस्थिति सदस्यहरुको भनाई थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले कोषाध्यक्षको प्रतिवेदन एन आयव्यय सबै अडिट गरेर राखिएको स्पष्ट पारे । संघका सचिव दिपेन्द्रप्रताप चन्दले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा कास्कीको क्रिकेट विकासको लागि क्रिकेट एकेडेमी, विद्यालयस्तरीय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता गर्ने योजना रहेको सुनाए । प्रतिवेदनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता(टी–२० तथा एकदिवसीय दुवै प्रारुप)मा आयोजना गर्ने योजना राखिएको उल्लेख छ ।

अम्पायर तथा स्कोरर तालिम, खेलाडीको लागि बन्द प्रशिक्षण, मनोरजनात्मक क्रिकेट प्रतियोगितालाई पनि भावी योजनामा समेटिएको छ । संघले गण्डकी प्रदेश सरकारसँग अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि पहल कदमी गरिराखेको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले सुनाए । पोखरा रंगशालाको क्रिकेट मैदानलाई स्तरोन्नति गर्नुपर्नेखाँचो छ । राष्ट्रिय खेलकुद परिषदबाट २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

त्यसबाट के काम गर्ने भन्ने निर्णय भईसकेको छैन् । प्रदेश सरकारले पनि यो आर्थिक वर्षको लागि दुई करोड विनियोजन गर्दै पशुपतिघाटमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान शुरु गरेको छ । कास्की जिल्ला क्रिकेट संघ २०५५ सालमा स्थापित भएको हो । संघले रिक्त रहेको दुई सदस्यमा एक सदस्य थप गरेको छ । साधारण सभाबाट सुदीप पौडेललाई सदस्यमा चयन गरिएको हो । साधारण सभाको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए ।