
पोखरा-नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीले भेटघाट गर्दै मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रस्ताव गर्नुभएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘क्यानले मुख्यमन्त्री कपको लागि प्रस्ताव गरेको छ ।’ अध्यक्ष सिग्देलले भने–‘प्रदेश सरकारले त्यसको लागि ५० लाख सहयोग गर्न तयार छ ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट आवश्यक पूर्वाधार तयार गर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । परिषदलको एक करोडसँगै गण्डकी प्रदेश सरकारले पनि एक करोड रुपैयाँ सहयोग गर्ने आश्वासन छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसँगको छलफलमा समेत क्यान एवं कास्की जिल्ला क्रिकेट संघका पदाधिकारीसँग एक करोड सहयोग गर्ने आश्वासन पाइएको उनले बताए ।
गण्डकी प्रदेश सरकारले आफनै स्वामित्वमा पोखरा–३३ भरतपोखरीमा प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजना बनाएको थियो । योजना अन्तर्गत दुई वर्ष लगातार बजेट विनियोजन गरेपनि काम अघि बढ्न सकेको छैन् । दुई करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । प्रदेश सरकारकै भोगाधिकारसहित १ सय ७६ रोपनी जग्गामा क्रिकेट मैदान निर्माण गर्ने योजना सहित अघि बढेको थियो ।
प्रादेशिक क्रिकेट मैदान निर्माणको लागि पनि क्यान तथा जिल्ला संघका पदाधिकारीले गण्डकी प्रदेश भौतिक योजना मन्त्री कुमार खड्कालाई भेट गर्दै मैदान निर्माणमा चासो दिन आग्रह गरेका थिए । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत तयार भईसकेको अवस्थामा समेत प्रादेशिक क्रिकेट मैदानक निर्माणको पहलकदमी लिन आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए । गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदले छुट्टाएको २५ लाख रुपैयाँबाट पोखरा रंगशाला क्रिकेट मैदानमा तारजाली(फेन्सिङ) लगाइएको थियो ।
तारजाली लगाइएपछि अब मैदान सम्याउने, नाली निर्माण र प्लेयर बक्स निर्माण गर्ने तर्फ संघले चासो दिएको छ । राखेपले छुट्टाएको एक करोड रुपैयाँ खर्च गर्ने योजनासहित कास्की जिल्ला क्रिकेट संघ अघि बढेको छ । क्यानका अध्यक्ष चन्दसहितको पदाधिकारी टोलीले भ्रमणपछि पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति गर्ने विषयमा जिल्ला संघसँग छलफल गरेको थियो ।
दुई जना मैदानको लागि कर्मचारी समेत नियुक्ति गर्न क्यान सकारात्मक रहेको छ । जिल्ला संघका पदाधिकारीले पोखरा राईनोजका शंकर गु्रपका सञ्चालक दिपा अग्रवालसँग समेत भेटघाट गरेको थियो । क्रिकेट विकासको लागि सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…