काठमाडौंलाई ललितपुरको १५८ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ९ गते २०७८ मा प्रकाशित


पोखरा-चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार उदघाटन खेलमा ललितपुरका पवन सर्राफले अर्धशतकीय पारी खेल्दै काठमाडौं किग्स ११ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानी बलर सहिद अफ्रिदीको बललाई राम्ररी रिड गर्दै सर्राफले एक छक्का र एक चौका प्रहार गर्दै अर्धशतकीय पारी खेलेपछि ललितपुरले८ विकेटको क्षतिमा काठमाडौंलाई १५७ रन बनाउँदै मध्यम लक्ष्य दिएको थियो ।

कप्तान कुशल भुर्तेल जितेन्द्र मुखियाको बलमा आउटभएपछि ललितपुरलाई पहिलो झट्का लागेको थियो । मुखियाको पहिलो बलमै भुर्तेल गोल्डेन डक हुदैं पभेलियनको बाटो समाएका थिए । मुखियाकै बलमा सान्दिन विराकोड्डी पनि आउट भएपछि ललितपुर निकै दबावमा पर्यो ।

पाँचौ नम्बरमा आएका पवन सर्राफले ललितपुरको इनिङ्सलाई उकास्ने प्रयास गरे । उनले पाँचौ विकेटको लागि योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी निभाउने क्रममा ६१ रनको योगदान दिए । उनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का हिर्काए । कार्कीले पनि ३३ रन जोड्ने क्रममा २० बल खेल्दै ३ छक्का हिर्काए ।

रायन बर्लको बलमा सर्राफ शेर मल्लको हातबाट क्याच आउट हुन पुगेका थिए । रन्जुङ मिक्यो दोर्जीले १७ रन अविजित खेले । बलिङ तर्फ भने मुखियाले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । सन्दिप लामिछाने भने कमजोर देखियो । उनले ४ ओभरमा ४४ रन दिएपनि विकेट भने लिन सकेनन् । गुल्सन झा र रायन बर्लले समान दुई दुई विकेट लिएका थिए ।