पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ९ गते २०७८ मा प्रकाशित


पोखरा-आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिदैं पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ । संघले खुल्ला महिला तथा पुरुष सहित भेट्रान्स इभेण्टलाई पनि निरन्तरता दिएको छ ।

महिला तथा पुरुष दुवै इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराईने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष एवं संयोजक नविन चालिसेले जानकारी दिए । खुल्ला महिला तथा पुरुष एकल र डबल्स तर्फको प्रतिस्पर्धा बाहेक अन्य इभेण्टमा समेत प्रतिस्पर्धा गराइने उनले बताए । खुल्ला बाहेक पुरुष तर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा गराईने उनले जानकारी दिए ।

प्रतियोगिताका निर्देशक राजन पौडेलका अनुसार पुरुष एकल तर्फ १६ जना, डबल्स तर्फ ९ समूहको प्रतिस्पर्धा रहेको छ । महिला तर्फ एकलमा १२ जना र डबल्स तर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । उमेर समूह तर्फ ३५ वर्षमाथिको उमेर समूहको एकल तर्फ २१ जना र डबल्स तर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ । ४५ वर्षमाथिको उमेर समूहमा एकल तर्फ ३२ जना र डबल्स तर्फ २१ टिमको सहभागिता रहेको उनले बताए । त्यस्तै ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकल तर्फ र १३ टिम डबल्स तर्फ प्रतिस्पधाृ गर्ने छन् । ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष एकल विजेताले ८० हजार रुपैयाँ पुरस्कार राशीसहित ट्रफी प्राप्त गर्ने छन् । उपविजेताले ४० हजार प्राप्त गर्दा सेमिफाईनलिष्ट खेलाडीले पनि १०हजार नगद राशी पुरस्कार थाप्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए । महिला डबल्स र पुरुष डबल्स विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाईनलिष्टले १० हजार प्राप्त गर्ने छन् ।

उमेर समूह अन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेता एकल तर्फ ६० हजार र उपविजेताले ३० हजार नगद पाउँदा डबल्स तर्फ २० र १० हजार पाउने छन् । सेमिफाइनलिष्टले पनि समान १० हजार राशी पुरस्कार पाउने छन् । ४५ वर्षमाथिको उमेर समूहको एकल तर्फ ४०हजार ,उपविजेताले २० हजार पाउँदा डबल्स तर्फको विजेता र उपविजेताले क्रमश २० र १० हजार पाउँदा सेमिफाइनलिष्टले पनि १० हजार रुपैयाँ पुरस्कार पाउने संघले जनाएको छ ।

५५ वर्षमाथिको उमेर समूहको एकल विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ पाउने छन् । सेमिफाईनलिष्टको हकमा पनि १० हजार राशी रहने छ । डबल्स तर्फ पनि विजेताले २० हजार, उपविजेता समहले १० हजार पाउँदा सेमिफाइनलिष्टले पनि १०हजार नै नगल पुरस्कार प्राप्त गर्ने छन् । ६५ वर्ष माथिको उमेर समूह विजेताले नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ । प्रतियोगितामा एक विदेशी, एक एनआरएनसहित पोखरा, बुटवल, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर तथा विभागीय खेलाडी समेतको सहभागिता रहेको कास्की जिल्ला टेनिस संघले जनाएको छ ।