अन्योलमा छनोट प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ११ गते २०८३ मा प्रकाशित


पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्थानीय तहदेखि नै खेलाडी छनोटको परिपत्र राष्ट्रिय खेलकुद परिषदले सबै प्रदेश परिषदलाई पठाएको छ । राखेपले प्रदेश खेलकुद परिषदलाई ४९ लाख रुपैयाँ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट तथा बन्द प्रशिक्षणको लागि बजेट पठाईसकेको छ ।

स्थानीय तहदेखि नै छनोट गर्ने परिपत्र अनुसार गण्डकी प्रदेशको खेलकुदको हब कास्कीमा पाँच स्थानीय तह छन् । चार गाँउपालिका र एक महानगरपालिका । पालिकाबाट छनोट भएका खेलाडी जिल्ला तहमा छनोटका लागि आउने हुन् । तर कास्कीका कुनैपनि स्थानीय तहबाट खेलाडी छनोट गरेर जिल्लामा पठाइएको छैन् । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिबी नेपालीका अनुसार स्थानीय तहबाट खेलाडी छनोट भएर आएनन् । उनी थप्छन—“स्थानीय तहसँग समन्वय नै भएन् । परिपत्र भयो तर समन्वय हुनै सकेन् ।”

राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ भन्ने नै अन्योल रह्यो । तीन पटक मिति सारिएपछि अन्योलमा रहेको खेलकुद प्रतियोगितालाई नयाँ सरकार गठनसँगै मंसिर १६ गतेदेखि २६ गतेसम्म आयोजना गर्ने निर्णयसँगै सबै प्रदेशलाई परिपत्र गरिएको थियो । कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको राजधानी पोखरा आफैं अन्योलमा परेको छ । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारका अनुसार स्थानीय तहसँग समन्वय नै भएन् ।

स्थानीय तहदेखि नै खेलाडी छनोट गर्ने परिपत्र आयो, महानगरको बजेट बनिसकेको थियो । परिपत्र ढिला आउँदा महानगरले आवश्यक बजेट छुट्याउन असमर्थ बन्यो । राखेप तथा प्रदेश खेलकुद परिषदले पनि छनोटको लागि भनेर कुनै बजेट नै दिएन् त्यसैले पनि स्थानीय तहमा छनोट प्रतियोगिता सञ्चालन गर्न नसकिएको गुनासो उनको थियो ।

स्थानीय तहबाट खेलाडी छनोट भएर नआउँदा जिल्ला छनोटमा समस्या हुने तर्क खेल संघको छ । खेल संघहरुले छनोटको लागि आवश्यक खेल मैदान र पर्याप्त सामानको अभावले पनि समस्या सृजना गरेको गुनासो छ । एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले एथलेटिक्सको महत्वपूर्ण विधा हर्डल्सको लागि सामान नै नभएको दुखेसो सुनाउँछन् । नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले हक्कीको लागि पूर्वाधारसँगै हक्की स्टिकको नहुदाँको पीडा खेलाडीले झेल्दै आएको गुनासो पोख्छन् ।

राखेपको परिपत्रलाई मध्यनजर गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला छनोट १२ गतेदेखि १५ गतेसम्म र १६ गतेदेखि १७ सम्म प्रदेश छनोट गरिसक्ने पत्रचार गरिसकेको छ । जिल्ला छनोटको लागि प्रदेश खेलकुद परिषदले सम्बन्धित जिल्लामा बजेट पुगि नसकेको बताउँछन् । कार्यालय प्रमुख नेपालीले बजेट नआईपुगेको बताउँदै छनोट अझै अन्योलमा रहेको भन्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको सबैभन्दा कमजोर तयारी भएको सुनाउँछन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी अन्य प्रदेशलाई पछि पारेर चौथो स्थानमा थियो । गण्डकी भन्दा माथि तीन विभागीय क्लब थिए ।

पोखरामै मंगलबार शारिरीक सुगठनका गण्डकी प्रदेश छनोट भईसकेको छ । जिल्ला आर्चरी संघले कार्तिक १४ गते छनोट गर्ने तयारी गरेको छ । अन्य संघ भने छनोट प्रतियोगिता आयोजना गर्ने बारे अझै ठोस निर्णय गर्न सकिरहेका छैनन् । प्रदेश खेलकुद परिषद गण्डकीले यसअघि दुई पटक विभिन्न खेलको प्रदेश छनोट टुग्याईसकेको छ । ती खेलको फेरी छनोट हुने नहुने अझै दोधार छ ।