ए डिभिजनको लक्ष्यमा सहारा क्लब

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०७८ मा प्रकाशित


पोखरा-मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने अभियानमा छ । मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ । ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो । बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना थियो । तर बीचैमा रोक लगाएपछि सहाराले मोफसलकै नकाउट प्रतियोगिता र आहा रारा गोल्डकपमै मात्रै ध्यान दिदैं आएको छ ।

आहा रारा गोल्डकपको तयारी

सहारा क्लब आहा रारा गोल्डकप आयोजना गर्ने संघारमा छ । यतिबेला कोरोनाको त्रास फेरी बढ्न थालेको छ । दुई वर्ष अघि पनि सहाराले त्रासकै बीचमा १८ औं र १९ औं सस्करणको गोल्डकपलाई टुग्याएको थियो । अहिले पनि कोरोनाको त्रास उस्तै छ । यद्यपी सिट व्यवस्थापन गरेरै २० औं संस्करणको गोल्डकप गर्न आँटेको छ । आगामी माघ ६ देखि १५ गतेसम्म अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति दिएको छ । त्यही मितिमा क्लब २० औं संस्करण टुग्याउने योजनासहित अन्तिम तयारी तर्फ अघि बढेको छ ।

२० औं संस्करणको गोल्डकपको लागि १० टोलीको नाम समेत सार्वजनिक गरेको छ । आहा रारा गोल्डकपको २० औं संस्करणमा उपाधि प्रतिस्पर्धाको लागि अमेरिकम क्लब नेपाल आईपुगेको छ । क्यामरुन, भारत, जापान र युकेको टोलीपछि सहारा क्लबको आयोजनामा आगामी माघको दोस्रो साता हुने २० औं सस्करणको गोल्डकप खेल्न केही दिन अघि मात्रै अमेरिकन टोली बुद्धिष्ट युथ सकर क्लब(बीवाईएससी) नेपाल आईपुगेको हो ।

अमेरिकन क्लबसँगै डिफेण्डिङ च्याम्पियन संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपीएफ कलब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा कलब, त्रिभुवन आर्मी क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गरेका छन् ।

पत्रकार सम्मेलनमै क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले कोरोना त्रासकै बीचमा आयोजना गरिने फुटबल प्रतियोगिताको लागि प्रशासनसँग सहकार्य गरेरै अघि बढ्ने बताए । १६ हजार ५ सय सिट क्षमताको प्यारापिटमा आधा क्षमतामा मात्रै दर्शक राखेर प्रतियोगिता सञ्चालन गरिने उनले सुनाए । हिमश्री फुड्सको मुख्य प्रायोजन,सर्वोत्कृष्ठ खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटरल गरेको छ ।

उत्कृष्ट विधाको पुरस्कार प्रायोजन भने केसी परिवारले गरेका छन् । सुर्यबहादुर केसी स्मृति बेष्ट फरवार्ड, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्ड, बेष्ट प्रशिक्षक प्रदान गरिने छ । पत्रकार सम्मेलनमै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका किरण केसीले सहारासँगको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै युवा पुस्तालाई अघि बढाई समृद्धिको लागि एकेडेमीलाई सहयोग गरिएको बताए ।

यव्यय
सहारा क्लबले गतवर्ष आयोजना गरेको १९ औं संस्करणको आहा रारा गोल्डकपको आयव्यय विवरण समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको आयव्यय अनुसार १३ लाख ४९ हजार रुपैयाँ बचत गरेको छ । ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ आम्दानी हुदाँ ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । क्लबले १८ औं संस्करणमा पोखरा रंगशाला फुटबल मैदानको भाडा स्वरुप ४ लाख रुपैयाँ दिएको थियो । १९ औं संस्करणमा ३ लाख रुपैयाँ भाडा दिइएको क्लबले जनाएको छ ।