स्थानीयको गुनासो- ‘हाम्रो उचित सम्बोधन होस’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित


कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धिताल भिंडाबारीस्थित प्रस्तावित एन्फाको टेक्निकल सेन्टर ।

कास्की(भिंडाबारी)-कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन् ।

टेक्निकल सेन्टरको काम शुरु हुनुअघि स्थानीयको गुनासोलाई सम्बोधन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एन्फा टेक्निकल सेन्टरको प्रत्यक्ष अवलोकन गर्न पुगेको कास्की जिल्ला फुटबल संघका पदाधिकारी समक्ष स्थानीयले उचित सम्बोधन गरेर काम अगाडि बढाउनुपर्ने आग्रह गरेका छन् । ‘एन्फाको यो प्रोजेक्ट आउने बारेमा जग्गा धनीका हामीलाई सोधखोज केही गरिएन् ।’ स्थानीय दुर्गादत्त अधिकारीले भने–‘विकास हुनुपर्छ । विकासमा हामीपनि रम्न चाहन्छौं तर हामीलाई उचित सम्बोधन गर्नुपर्छ ।’ उनले आफनो ३६ मुरी माटो भएको जग्गा प्रोजेक्ट भित्र पर्ने भन्दै त्यसको लागि उचित सम्बोधन गरिनुपर्ने माग गरे ।

स्थानीय शिक्षक नविन अधिकारीले स्कुलको जग्गाको केही एन्फाको प्रोजेक्टसँग भित्र पर्ने भन्दै समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘समन्वय गर्नुपर्छ पर्छ त्यसको लागि हामी कँही चुक्दैनौं ।’ उनको भनाई थियो । टेक्निकल सेन्टरको बारेमा नजिकदेखि नियाल्दै आएका शिक्षक जयलाल दवाडीले राजनीति बदलावसँगै यो एन्फाको प्रोजेक्ट पनि बदलिन नहुने स्पष्ट पारे । ‘भिंडाबारीमा एन्फाको प्रोजेक्ट बन्नुपर्छ । तर राजनीतिक बदलावसँगै प्रोजेक्ट पनि बदलाव हुनुहुदैन् ।’ उनको भनाई थियो । उनका अनुसार एन्फाको प्रोजेक्टलाई राजनीतिक परिवर्तनसँगै भिंडाबारीबाट अन्यत्र नसारियोस भन्ने माग तथा अपेक्षा हो ।

एन्फाको टेक्निकल सेन्टर बनाउन प्रस्तावित जग्गा अधिकांश पर्ती हो । पर्ती जग्गा संरक्षण गर्न स्थानीयले सार्वजनिक सम्पति संरक्षण समिति समेत बनाएका छन् । समितिले केही कृषि फार्मलाई भाडामा दिएको छ । ‘दुई वर्ष समितिकै संरक्षणमा जग्गा रह्यो । त्यसपछि टेण्डर आह्वान गरेर भाडामा दियो । टेण्डर पारेर हामीले कृषि फार्म चलाईराखेका छौं ।’ स्थानीय तोयानाथ अधिकारीले भने–‘टेण्डर प्रक्रिया अनुसार नै कृषि फार्म सञ्चालन गरिएको छ । अवधि सकिन अझै ५÷७ वर्ष बाँकी छ ।’ उनले व्यक्तिगत कारणले आफुले राज्यले चाहेको विकासको कामलाई अवरोध नगर्ने भन्दै एन्फाकै कारण आफनो लगानी वर्षेनी कटौती गर्नुपर्नेको गुनासो सुनाए ।

‘एन्फाको प्रोजेक्ट शुरु भईहाल्छ भन्ने एकखालको चर्चा चलाईयो । चर्चाकै कारण लगानी कटौती गर्दै गएँ ।’ उनले भने–‘समितिसँग औपचारिक रुपमा कागज गरेर काम गरेको हुँ । समयावधि अघि नै छोड्नुपर्दा उचित हुनुपर्छ भन्ने मान्यता हो ।’ स्थानीय बासिन्दा कृष्ण भण्डारी, जमूना अधिकारी, शिक्षक रामचन्द्र दवाडी लगायतले एन्फाको प्रोजेक्ट बन्नुपर्नेमा एकमत रहेपनि उचित सम्बोधनको लागि गाँउपालिकाले सहजीकरण गर्नुपर्ने जिकिर गरेका थिए । उनीहरुले प्रोजेक्ट सफल बनाउनुपर्ने माग गर्दै यदि जर्वजस्त गरियो भने रोकिन सक्ने भन्ने चेतावनी समेत दिए ।
कास्कीको माछापुच्छ«े गाँउपालिका–६ धितालमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ दुई खोलाको दोभानमा छ । दोभानमा रहेको प्रस्तावित जग्गालाई तटबन्ध लगाई संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ । यद्यपी मर्दी खोलाको किनारमा १२० मिटर लामो तटबन्ध बाँधिएको छ । खोला किनारमा अझै लामो तटबन्ध बाँध्नुपर्ने छ । अर्कोतिर इदी खोलाको कटान रोक्न पनि तटबन्ध लगाउनुपर्ने खाँचो छ ।

प्रस्तावित टेक्निकल सेन्टर गाउँपालिकाको धिताल–६ मा पर्छ । वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतमले एक करोड ४० लाखको टेण्डर आह्वान भई घटिघटाउमा ६९ लाखमा १२० मिटर लम्बाईको मर्दी खोलामा तटबन्ध लगाइएको बताए । उनका अनुसार २ मिटर गहिराई डेढमिटर चौडाई र ३ मिटर उचाईको तटबन्ध लगाइएको छ ।

स्थानीय वडा नं ८ का वडाध्यक्ष एवं पर्यटन व्यवसायी राम गुरुङले एन्फाको यो ड्रिम प्रोजेक्ट कार्यान्वयनमा ल्याउन संघ, प्रदेश र स्थानीय सरकारसँगै एन्फाले के कसरी लगानी गर्ने विषयमा निर्णय हुनुपर्ने बताए । ‘हामी स्थानीय तहले के–के काम गर्नुपर्छ ।संघ, प्रदेश सरकारले कस्तो प्रतिबद्धता गर्नुपर्छ त्यसको लागि एन्फाले समन्वयकारी भूमिका खेल्नुपर्छ ।’ उनको भनाई थियो । उनले स्थानीय जग्गा दाताहरुलाई स्थानीय तहबाटै उचित सम्बोधन गरेर काम अघि बढाउने प्रतिबद्धता गरे ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, उपाध्यक्ष नरेन्द्रजग गुरुङ तथा महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले भिंडाबारी प्राकृतिक दृष्टिकोणले प्रोजेक्ट बनाउनुपर्ने आवाज उठाएका छन् । ‘सरकारले विवादित ठाँउमा लगानी गर्दैन् ।’ महासचिव खत्रीले भने–‘पहिलो विवादरहित बनाउनुपर्छ । त्यसपछि खेलुकदलागि जग्गा रेंखाकन गरिदिनुपर्छ । काम शुरु गर्दा निर्विवाद रहनुपर्छ ।’