भदौ २० भित्र प्रदेश छनोट गरेर बन्द प्रशिक्षण–गण्डकी खेलकुद परिषद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषदले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ । जिल्ला छनोट भएका खेलाडीलाई परिषदले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्ने छ । केही खेललाई परिषदले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुग्याउने छ ।

जिल्ला छनोटको लागि जिल्ला खेलकुद मार्फत विभिन्न संघहरुलाई खेलाडी फर्म दर्ताको लागि पठाईसकिएको छ । दर्ता भएको फर्मकै आधारमा खेलाडीहरु जिल्ला छनोटमा सहभागिता जनाउन पाउने छन् । परिषदले सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायथोलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ जस्ता खेलको प्रदेशले विशेष प्रशिक्षणपछि छनोट गरेर टुग्याउने छ ।

‘१६ खेलका खेलाडीहरु संघ मार्फत जिल्लाले प्रदेशमा नामावली पठाउने छ ।’ परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले भने–‘नामावली आईसकेपछि ती खेलका खेलाडीलाई २० दिने विशेष प्रशिक्षणको व्यवस्था परिषदले गर्ने छ । विशेष प्रशिक्षणपछि प्रदेश छनोट गरिने छ । प्रदेश छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ ।’ परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट विशेष प्रशिक्षण सहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन् ।

जिल्लाबाट छनोट भएका आएका खेलाडीहरुलाई प्रदेश छनोट प्रतिस्पर्धा मार्फत छनोट गरिने छ । क्षत्रीका अनुसार १५ गतेदेखि १९ गतेसम्म प्रदेश छनोट गरिने छ । यद्यपी केही खेलहरुको २० दिनको विशेष प्रशिक्षणपछि छनोट गरेर अन्तिम नामावलीसहित राष्ट्रिय खेलकुद परिषदमा पठाईने छ । भदौ १५ गते भव्य कार्यक्रमका विच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘व्राण्डिङ’ गरी अघि बढाइने परिषदले तयारी थालेको छ ।

परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवाशिय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ । आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरासहित गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुँदैछ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी गण्डकी प्रदेशमा आउने छन् ।