
पोखरा-पर्याप्त प्रशिक्षक छैनन् । प्रशिक्षक नभएपनि गण्डकी प्रदेशले नवौं राष्ट्रिय प्रतियोगिताको आन्तरिक तयारी शुरु गरेको छ । आन्तरिक तयारीसँगै प्रदेशले जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु गरेको छ ।
असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ वटा खेलको महिला तथा पुरुष तर्फ छनोट शुरु गरिएको हो । छनोट प्रतिस्पर्धा कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण शरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् ।

आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ छन् । यी मध्ये केही खेलका प्रशिक्षक नै छैनन् । प्रशिक्षक विना विशेष प्रशिक्षण शुरु गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले स्वयं सेवक प्रशिक्षक तयार गर्ने उद्देश्यसहित अनलाईन प्रशिक्षण दिएको थियो । तर उनीहरुलाई परिषदले प्रशिक्षकको रुपमा खटाउन भने सकेको छैन् ।
पोखरा रङ्गशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिवद्धता जनाएका छन् । उनले भने–“प्रदेशको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” उनले पैसाका कारणले व्यवस्थापकीय तथा खेलाडीलाई आधारभुत कुराहरुमा कुनै कमि हुन नदिइने उनको भनाई थियो ।
अर्थ मन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पुर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेश अन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले भने–“सवै ठाउँमा संघियाता आए पनि खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।” उखेलकुद सवैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै मन्त्री बरालले भोलिका दिनमा उत्कृष्ट नतिजा ल्याउने गरी प्रशिक्षणमा ध्यान दिन उनले आग्रह गरे ।

उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिंदै नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषदले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।
सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म प्रदेश छनोट गरेर खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…