साग रजतपदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद खेल्न साईकल अभाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित


पोखरा-कोभिडले लकडाउन लाग्यो । लकडाउनले आर्थिक समस्या बनायो । जागिर थिएन् । आर्थिक समस्या बढेपछि भएको साईकल बेच्नु पर्यो । साईकल बेचेर आएको पैसाले घरको खर्च जोहो भयो ।

तर अहिले साईकल अभावले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा रजत पदक विजेता जमूना थापा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने कि नखेल्ने दुविधामा छन् । लकडाउनले आर्थिक समस्या परेपछि साईक्लिङमा डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्दै आएकी थापालाई घरेलु शहरमै आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता अन्यौल बनेको छ । रजत पदक जित्दै उनले इतिहास कोरिन् । उनको कोरिएको इतिहासमा राज्यले गर्विलो अनुभव गर्यो । तर अहिले खेलाडीले साईकल अभावमा भोग्नुपरेको पीडालाई सहजीकरण गर्ने तर्फ सरोकार निकायको देखिदैन् ।

‘भएको साईकल लकडाउनमा बेचें । आम्दानी थिएन् । घर खर्च चलाउन साईकल बेचिदिएँ ।’ उनले भनिन–‘साईकल मेनटेन गर्न पनि खर्च थिएन् । खर्च नभएपछि साईकल बेच्नु पर्यो । बेचेको पैसाले घर खर्च समेत टर्यो ।’ उनले आम्दानी नभएकै कारण साईकल फेरी किनेर प्रतियोगिता खेल्न सक्ने अवस्था नभएको बताईन् । ‘साईकल छैन् । म्यानेज भयो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्छु ।’ उनले भनिन–‘नभए गेम खेल्दिन् ।’ उनको अनुपस्थितमा साईकलमा आउने पदक समेत गुम्ने सम्भावना छ ।

डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्ने साईकल खरीद गर्न उनको ल्याकत छैन् । सहयोगको प्रतिबद्धता आएको छ । तर यही भदौ १६ गतेदेखि प्रदेशस्तरीय छनोट हुदैं छ । छनोटमा समेत सहभागिता जनाउन साईकल छैन् । साईकल नहुदाँ प्रदेश छनोटमा सहभागिता जनाउने विषयमा समेत अन्यौल बढेको छ । ‘साईकललाई ३÷४ लाख रुपैयाँ पर्छ । दैनिक भाडा तिरेर खेल्न समेत भाडा तिर्न कठिनाई छ ।’ उनले भनिन–‘दैनिक २ हजारदेखि ४ हजारसम्म भाडा तिर्नुपर्छ । तर भाडा तिरेर साईकल ल्याउन सकिन्न ।’

जमुना थापाको पीडालाई मलम लगाउन कास्की जिल्ला साईक्लिङ दौडधुपमा छ । यद्यपी ठोस उपलब्धी भने भएको छैन् । आर्थिक समस्याकै कारण उनले लकडाउनमा साईकल बेचेको भन्दै संघका अध्यक्ष शंकर भण्डारीले सागमा पदक विजेता खेलाडीले राष्ट्रिय प्रतियोगितामा साईकलकै अभावमा सहभागिता जनाउन नसक्नु दुखद हुने बताए । ‘उनीसँग साईकल छैन् । संघले पनि किनेर दिन सक्ने क्षमता छैन् ।’ अध्यक्ष भण्डारीले भने–‘प्रतियोगितामा खेल्न नेपाल साईक्लिङ संघले साईकलको दिने प्रतिबद्धता गरेको छ । तर प्रशिक्षण गर्न तत्कालै खाँचो छ ।’

भाडामा साईकल ल्याउन दैनिक २ देखि ४ हजार रुपैयाँ लाग्ने जानकारी संघले पाएको उल्लेख गर्दै उनले प्रदेश खेलकुद परिषदले दैनिक १ हजारसम्म व्यवस्था गर्ने प्रतिबद्धता गरेको जिकिर गरे । थापाले प्रतिस्पर्धा गर्ने डाउनहिल नै हो । अन्य इभेण्टमा उनले प्रतिस्पर्धा गरेकी छैनन् । थापाले साईक्लिङ गर्न नपाएपनि आफुलाई फिट राखेको स्पष्ट पारिन् । अध्यक्ष भण्डारीले साईक्लिष्ट थापालाई साईकल उपलब्ध गराईदिन खेलकुदका सबै निकायसँग सहयोगको अपिल गरेका छन् । साईकल किन्नको लागि आर्थिक सहयोग जुटाईदिन समेत उनले आग्रह गरेका छन् ।

‘साईकल सहयोगको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री, गण्डकी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषदका सदस्यसम्म गुहार मागेको छु ।’ उनले भने–‘सहयोगको लागि सबै सकारात्मक छन् । तर ठोस निर्णय कसैले गरेनन् ।’ सबैसँग अपिल गरेपछि प्रतिबद्धता मात्रै आएको उनको भनाई थियो । प्रतिबद्धता भन्दा पनि साईकल तत्कालै उपलब्ध गराउनुपर्ने सम्बन्धित सरोकार निकायलाई उनले ध्यानाकर्षण गराएका छन् ।