गण्डकीको दोस्रो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोतिगामा दोस्रो जित आत्मसात गरेको छ । जितसँगै गण्डकीले सेमिफाईनलको सम्भावनालाई बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार टस हारेर व्याटिङको निम्तो पाएको गण्डकीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल र समीर कँडेलले २३ रनको साझेदारी गरे समीर व्यक्तिगत ४ रनमा खेलिरहँदा दिनेश अधिकारीको बलमा आउट भएपछि गण्डकीलाई पहिलो झ्टका लाग्यो । तर दोस्रो विकेटको लागि अर्जुन र विधान श्रेष्ठले ६७ रनको साझेदारी निभाउँदै उत्कृष्ट इनिङ खेले । अनुज चुनाराको बलमा विधान श्रेष्ठ ४६ रनमा आउट भए । अर्जुन कुमाल ४९ रनमा आउट भए । उनी एक रनबाट अधर्शतक बनाउनबाट चुके । उनी दिनेश अधिकारीकै बलमा आउट भएपछि अर्धशतक पुरा गर्ने सपना क्याचआउटसँगै तुहियो ।

विधानले एकदिवसीय प्रतिस्पर्धामा आफुलाई कमब्याक गर्दै उत्कृष्ट पारी खेले । उनले १०४ बल खेल्दै ४६ रन बनाउने क्रममा ६ चौका प्रहार गरे । गण्डकीले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी बनायो । गण्डकीले तेस्रो विकेटको लागि विधानले र अभिषेक बस्नेतसँग ७९ रनको साझेदारी गरे । अभिषेकले अर्धशतकीय पारी खेले । उनले चनाराको बलिङमा आउट हुदाँ ४५ बलमा ५१ रनको पारी खेलेका थिए । ८ चौका र १ छक्का प्रहार गर्दै मध्यक्रममा गतिलो व्याटिङ प्रस्तुत गरे । उनको विकेट पतनसँगै गण्डकी धरासायी बन्दै गयो । यद्यपी सुवास भण्डारीले दोहोरो अकंको रन बनाउने क्रममा १४ रन बनाउँदै क्रिजबाट पभेलियन फर्किए । चनाराले ९ ओभरमा ५१ रन खर्चिएर ४ विकेट लिदाँ प्रकाश जैसीले ९ ओभरमा ३७ रन दिएर ३ विकेट लिएका थिए ।

२०९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७६ रनमा समेटिन पुग्यो । हिमांशु शाहीले अविजित अर्धशतकीय पारी खेल्दै आशा जगाएपनि अन्य व्याटरको लोभलाग्दो प्रदर्शन भने रहन सकेन् । विपिन रावलेलाई ६ रनमै गुमाएको कर्णालीले दोस्रो विकेटको लागि रविन्द शाही र अर्जुन घर्ती बीच पनि साझेदारी लामो समय टिक्न सकेन् । घर्ती ५ रनमै आउटभएपछि कर्णालीमाथि दबाव पर्यो । तेस्रो विकेटको रुपमा निश्चल रावललाई शून्यमै गुमाएपछि कर्णालीलाई विकेट जोगाउनै सकस परेको थियो ।

यद्यपी चौथो विकेटको लागि रबिन्द्र र हिमांशु शाहीले ६२ रनको साझेदारी निभाउँदै खेलमा फर्किने सम्भावना जगाउँदै आशातित बनाएका थिए । गण्डकीका कप्तान विपिन खत्रीले आउट गरेपछि महत्वपूर्ण साझेदारी टुटन पुग्यो । रबिन्द्रले ४२ रन बनाई क्रिज छोडे । उनले ८४ बलमा ५ चौका प्रहार गर्दै गण्डकीका बलरमाथि हावी बनेका थिए । हिमांशु शाही अविजित ६९ रन बनाए । उनले ११६ बलमा ८ चौका हान्दै कर्णालीको आशलाई फर्काउने प्रयास गरे । तर अन्य व्याटर खासै चल्न सकेनन् । प्रकाश जैसी १५ रन बनाई खेल्ने क्रममा विपिन खत्रीकै बलमा एलबीडब्लुको धरापमा परे । गण्डकीका सुवास भण्डारीले १० ओभरमा २ मेडन राख्दै २४ रन दिएर ३ विकेट लिए । चन्द्र पौडेलले पनि ३ विकेट लिने क्रममा ५४ रन खर्चिएका थिए । खेलमा गण्डकीका अभिषेक बस्नेत प्लेयर अफ दि म्याच घोषित भए ।