१२वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १४ गते २०७९ मा प्रकाशित


पोखरा-पाएको अवसरलाई सदुपयोग गर्नुनै फुटबलको सुन्दर पक्ष हो । खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब उदघाटनका प्रतिस्पर्धी बनेका थिए ।

सहाराका भावगत चौधरीले डिबक्स बाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्यो । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोल गरे । खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याचको हकदार बनाउँदा सहाराको फुटबलस्तर खस्किएको प्रमाणित भयो । वर्षौदेखि एकेडेमी सञ्चालन गरेपनि एकेडेमीका खेलाडीलाई सहाराले मैदानमा उतार्न सकेन् । एकेडेमीका खेलाडीलाई प्रोत्साहन गरेपनि प्रभावकारीता भने रहेन् । पहिलो हाफमा धरानको त्यो नै एकमात्र अवसर सृजना भएको थियो ।

सहाराले पनि घरेलु मैदानमा जुझारु प्रदर्शनबाट चुक्यो । फिनिसिङमा निकै कमजोर देखियो । कप्तान शुशिल लामाको क्रस बललाई अमिन रावलले गरेको हेडर पोष्टको फ्रेममा पर्न सकेन् । त्यस्तै २४ औं मिनेटमा डिबक्स भित्रबाट विक्रमसिंह ठकुरीले दिएको पासलाई अमिन रावलले सदुपयोग गर्न सकेनन् । दुवैको खेलस्तरले मोफसलको फुटबलस्तर निकै कमजोर रहेको प्रष्ट देखिन्थ्यो । त्यसो त दर्शकको उपस्थिति पनि न्युन रहदाँ नकाउट फुटबलको रौनक नै घटेको आभाष भएको थियो ।

धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उदघाटन खेल खेल्न उत्रिएको थियो । सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछिको हो । २०६८ सालमा यी दुई बीच उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो । नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो ।

धरानको सहभागिता पोखरामा नियमित जस्तै छ । पहिलो आहा गोल्डकप(२०५९)देखि धरानको उपस्थिति रहँदै आएको छ । पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौंसम्म धरान फुटबल क्लबको उपस्थिति थियो । २०६७ को नवौंमा फेरी धरानले आफुलाई आहा गोल्डकपमा उभ्यायो । त्यसपछि दशौं, एघारौं आहा रारा गोल्डकप, १२औं पछि फेरी तीन वर्ष धरानको अनुपस्थिति रह्यो ।

१५ औं, १६ औं, १७ औंमा पोखरामा सहभागितापछि धरानको २१ औंसम्म आइपुग्दा पोखरा यात्रा रोकियो । तर सहारासँगको उदघाटन खेल भने १२ वर्षपछि मात्रै हो । नवौ र दशौं आहा गोल्डकपमा पोखरा रंगशालामा यी दुई बीच आमने सामने भएका थिए । गोल्डकपको दोस्रो दिन पुस १७ गते शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुने छ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै साँझमा पनि विमान अवतरण हुने भन्दै साँझकै समयमा फुटबल खेलाउने तर्फ आवश्यक सहयोग महानगरपालिकाले गर्ने प्रतिबद्धता जनाए । ‘स्पोर्टस टुरिज्म आजको आश्यकता हो ’ महानगरप्रमुख आचार्यले भने–‘त्यसको लागि महानगरको साथ रहने छ ।’

प्रतियोगिता उदघाटन समारोहमै वर्ष उत्कृृष्ठ फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो । उनलाई नगद ५० हजार राशीसहित दोसल्ला ओढाई सम्मान गरियो । सोही अवसरमा सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई पोखरा रामबजारस्थित ज्येष्ठ नागरिक समाजले नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्यो । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।