मछिन्द्रमाथि चर्च ब्वाईजको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १७ गते २०७९ मा प्रकाशित


पोखरा-आशिष चौधरी र आशिष चापागाँईको ‘व्युटिफुल कम्बिनेशन’ बनेपछि चर्च ब्वाईज युनाईटेड आहा रारा पोखरा गोल्डकपको डेब्यु सहभागितामै सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदानमा चर्च ब्वाईजले मछिन्द्रको चुनौतिलाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साविक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लब पहिलो यात्राबाट बिदा लिएको छ ।

पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो । यद्यपी गोलको अवसर सृजना गरेपनि फिनिसिङमा चुक्दा मछिन्द्रले पोखराको बसाई थप सुखद बनाउन सकेन् । खेलको चौथो मिनेटबाट चर्च ब्वाईजले आक्रमण बुन्यो । पाएको फ्रिकिकलाई एरिक विष्टले प्रहार गरे । उनको प्रहार क्रसबारमा लागेर गोल लाईन नजिकैबाट पोष्टबाट बाहिर निस्कियो ।

त्यसो त मछिन्द्रले पनि ९ मिनेटमा गोल गर्ने अवसर गुमाउँदै अग्रताबाट बन्चित हुन पुग्यो । रितिक खड्काले गोलकिपरलाई विट गर्न निकालेको बल पोष्टभन्दा बाहिरिन पुग्यो । कप्तान अनन्त तामाङले गोलकिपर किशोर गिरीलाई व्याक हेड पास दिएका थिए । तर त्यो पास गोलकिपरसम्म नपुग्दै रितिकले ‘कलेक्ट’ गर्दै विट गरेपनि बललाई पोष्टको दिशा दिनबाट चुके ।

चर्चले पहिलो गोल २३ औं मिनेटमा गर्यो । गोलको खडेरी तोड्ने क्रममा अफसाईड ‘ट्रयाप’ बिट गर्दै अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए । क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले फिनिसिङ टच दिए । गोलको खुशीसँगै चर्च ब्वाईजले अग्रता लियो ।

एकपछि अर्को आक्रमण बुन्न प्रयास गरिरहेको चर्चले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा २–०ले अग्रता लियो । आशिष चापागाँईले मछिन्द्रका तीन जना डिफेण्डरको बीचबाट प्रहार गरेको बलले जाली चुमेपछि चर्च मछिन्द्रमाथि हावी बन्यो । उनलाई आशिष चौधरीले पास उपलब्ध गरेका थिए । ४४ औ मिनेटमा विमल घर्ती मगरले मछिन्द्रका लागि गोल गर्ने प्रयास गरे । तर उनको लेफ्ट प्रहार क्रसबार भन्दा निकै माथिबाट बाहिरियो ।

मछिन्द्रमाथि दबाव बनाईरहेको चर्चले ६७ औं मिनेटमा अर्को गोल थप्यो । गोल अन्तर फराकिलो बनाउने क्रममा आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले फष्टबारमा गोल गरे । उनले लेफ्ट सट पोष्टभित्र छिरेपछि मछिन्द्रलाई कमब्याक गर्ने अवसर नै दिएन् । आशिषद्वयको गोल र असिष्टले ‘व्युटिफुल कम्बिनेसन’ बनेको थियो ।

पाँच खेलाडी परिवर्तन गर्दै खेलमा फर्किन कोशिस गरेको मछिन्द्रले ८९ औं मिनेटमा गोल फर्काउँदै लिग च्याम्पियनको ईज्जत जोगाउने प्रयास गर्यो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अभिषेक गुरुङको पासलाई सदुपयोग गर्दै सौरब सुब्बाले गोल फर्काए । उनै सुब्बाले ८५ औं मिनेटमा डिफेन्सलाई विट गर्दै वान भर्सेस वानको अवस्थाको अवसरलाई खेर फाले ।

खेलमा चर्च ब्वाईजका आशिष चापागाँई म्यान अफ दि म्याचको पुरस्कार थापे । ‘विपक्षी टोली बलियो नै थियो । हामीले राम्रो खेल्यौं’ चर्च ब्वाईज युनाईटेडका प्रशिक्षक विक्रम लामाले भने–‘सुधार गर्नुपर्ने धेरै छ । टाईटल उचाल्ने लक्ष्यसहित आएका हौं । सुधार गर्दै जान्छौं ।’ उनले सबै खेलाडीलाई अवसर दिनुपर्छ भन्ने आशयले खेलाडी परिवर्तन गरिएको बताए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजित २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत सोमबार तेस्रो क्र्वाटरफाईनल खेल संकटा विरुद्ध त्रिभुवन आर्मी क्लब बीच हुने छ ।