पाहुना टोलीलाई हराँउदै संकटालाई उपाधि

- सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०७९ मा प्रकाशित


उपाधिसहित संकटा क्लबका खेलाडी तथा अफिसियलहरु । तस्बिर आशिष पुरी

पोखरा-अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो । दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो । कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो ।

निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । उनको कप्तानीमा संकटाले पोखरामा मैदानमा उपाधि उचाल्दै इतिहास बनायो । संयोग नै मान्नुपर्छ, संकटाले १९ औं संस्करणमा उपाधि उचाल्दा अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो । दोस्रो पटक पोखराकै मैदानमा उपाधि उचाल्दा पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई पन्छायो ।

शनिबार पोखराको मैदानमा भएको फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो । पहिलो हाफमै कमब्याक गरेको भुटनिजले दोस्रो हाफमा खासै प्रभावकारी खेल प्रदर्शन नगरेपनि संकटाको आक्रमणलाई भने विफल बनाईरह्यो । खेललाई अतिरिक्तसम्म लम्ब्यायो । पहिलो हाफको ८ औं मिनेटमा निसान खड्काको क्रसबललाई भुटनिजका गोलकिपर पुजन थापामगरले बचाउ गरे । बचाउ गर्ने क्रममा रिवाउण्ड भएको बललाई उपयोग गर्दै सुरजजिउ ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाए ।

पहिलो गोलबाट उत्साहित संकटाले खेलको ३५ औं मिनेटमा सुनिल बलको क्रस बललाई मुसेकले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएपछि संकटाले अग्रतालाई दोब्बर बनायो । संकटाले गोलको खुशीयाली भने लामो समय मनाउन सकेन् । ३७ औं मिनेटमा भुटनिजले गोल फर्काउँदै खेलमा फर्किने संकेत गर्यो । फ्रिकिकलाई सुदपयो गर्यो । मिगेल पालाफक्सको क्रसमा रेने सान्तलिनले गोल गर्दै अन्तर घटाए । पहिलो हाफको अतिरिक्त समयमा भुटनिजले बराबरी गोल गर्दै खेलमा फर्कियो । धिरज थाजलीको फ्रिकिकलाई अग्ला कदका खेलाडी विल्स ग्रिफितले गोल गर्दै बराबरीमा ल्याए । उनको गोलसँगै भुटनिज खेलमा फर्किएको थियो । दोस्रो हाफ गोलरहित हुदाँ खेलको निणार्यार्थ ३० मिनेट थपिएको थियो । खेलको ७८ औं मिनेटमा आयुष घालानको पासलाई स्टेफन विनोङले गुमाउँदा खेल अतिरिक्तमा लम्बिएको थियो । स्टेफनले फष्टबार च्याप्दै हानेको बल बाहिरिएको थियो । आयुषकै पाललाई स्टेफन प्रहारमा ढिलो हुदाँ क्लियर हुन पुग्यो ।

अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित भएपछि खेल टाईब्रेकरमा उद्दत थियो । तर खेलको ११५ औं मिनेटमा संकटाका कप्तान सुनिलले उत्कृष्ट फिनिसिङ गर्दै उपाधि दिलाए । मेसुकेको पासमा बलले पेनाल्टी बक्सभित्रबाट सदुपयोग गरेका थिए । खेलमा म्यान अफ दि म्याचको हकदार भने मेसुके बने ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बलले प्राप्त गरे । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका स्ट्राईकर मेसुकेले पाए । उनले चार गोल गरेका थिए । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए । बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने ।

विजेता संकटा क्लबले नगद १२ लाख रुपैया नगदसहित ट्रफी उचाल्यो । उपविजेता बनेको भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता एवं विधागत उत्कृष्टलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।