आर्मी र सशस्त्र प्रहरीको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७९ मा प्रकाशित


पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ ।

टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो ।

पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम राख्न सकेन् । सशस्त्रमाथि हावी देखिने आँकलन गरिएपनि आर्मीले फितलो प्रदर्शन गरेपछि पछिल्लो तीनै सेट सशस्त्रलाई सुम्पिन पुग्यो । सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीको चुनौतिलाई पन्छायो ।

महिला तर्फ आर्मीले होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद यात्रा तय गर्यो । आईतबार भएको महिला तर्फ पहिलो प्रतिस्पर्धामा आर्मीले न्यु डायमण्डमाथि २७–२५, २५–१७ र २५–२३ को प्रतिस्पर्धात्मक रुपमा आफनो पक्षमा पार्दै जित निकाल्यो । न्यु डायमण्डकी प्रतिभाको अनुपस्थितिले पनि आर्मीलाई जित निकाल्न सकस भएको थियो ।

टाईगर ग्रुपले तेस्रो संस्करणमा आईपुग्दा पुरस्कार राशी बढाएइको छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।