
पोखरा-टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक,ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो ।
रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफनो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो । पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफनो पक्षमा पार्दै पुलिसमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पुलिस अझै कमजोर बन्यो । २५–२० ले दोस्रो सेट जितेपछि पुलिस अझै कमजोर बन्न पुग्यो । नितिनको उत्कृष्ट ब्लक र क्विक प्रहार गर्दै पुलिसलाई हायलकायल बनाएको गण्डकीले तेस्रो सेट २५–१६ मा लियो । अन्तिम सेट १७–७ अंकले अग्रता लिएको गण्डकीले अन्तिम सेट लिदाँ पुलिसले कमब्याक संकेत देखाउन खोजेपनि आत्मविश्वासी बन्न सकेन् ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गर्यो । क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो ।
पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम राख्न सकेन् । सशस्त्रमाथि हावी देखिने आँकलन गरिएपनि आर्मीले फितलो प्रदर्शन गरेपछि पछिल्लो तीनै सेट सशस्त्रलाई सुम्पिन पुग्यो । सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीको चुनौतिलाई पन्छायो ।