गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २० गते २०८० मा प्रकाशित


पोखरा-नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ लाख रुपैयाँ राशीसहित च्याम्पियन बन्यो । उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।

नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो घरेलु मैदानमा २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए । नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।

१४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई सस्तैमा समेट्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ प्रभावकारी रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए । सव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पभेलिएनको बाटो देखाए । त्यस्तै नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकलाई मुस्कान थापाबाट क्याच आउट गराए । उनले नै विशाल पौडेल ३ रनमा किरण पौडेलबाट क्याच आउट गराउन पुगे ।

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडेल घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए । वेष्ट व्याटरबाट कास्कीका मुस्कान थापा घोषित भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।