प्रादेशिक क्रिकेट संघ गण्डकीको अध्यक्षमा सिग्देल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ६ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी,विद्यादेवी भट्टराई,भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । कार्यसमितिको कार्यकाल चारवर्षको हुने छ ।

अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि कुराकानी गर्दै अबको चुनौति नै प्रादेशिक क्रिकेट मैदान बनाउने भएको बताए । उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्युको रुपमा विकास गर्न सरोकार निकायसँग पहल कदमी गर्ने बताए । उनले पोखरालाई काठमाडौंपछिको सौन्दर्यकै हिसाबले पनि अन्तरराष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट संघले समेत प्रतिबद्धता जाहेर गरेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय तहसँग समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसँगै अन्तरराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक बैकल्पिक मैदान निर्माण अत्यावश्यक भएको उल्लख गरे । उनले त्यसको लागि प्रदेश खेलकुद परिषदले विभिन्न जिल्लामा जग्गा खोजीकार्य भईरहेको सुनाउँदै परिषदको टोलीले आवश्यक अध्ययन गरेर प्रतिवेदन बुझाउने स्पष्ट पारे ।

प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ । बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट संघ गण्डकीले दवाव दिने बताए । प्रदेश खेलकुुद परिषद गण्डकीसँगको सहकार्य गर्दै प्रदेशस्तरीय क्रिकेट प्रतियोगितालाई बढवा दिने जिकिर गरे । क्रिकेट मैदानसँगै खेलाडीको प्रवद्र्धन गर्न प्रादेशिक क्रिकेट संघले आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत अठोट समेत अध्यक्ष सिग्देलले लिएका छन् ।