खेलकुद पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकार बीच समन्वयको खाँचो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०८१ मा प्रकाशित


पोेखरा-गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भारसँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने आवश्यकता औंल्याएका छन् । आवश्यक समन्वयकै अभावमा पोखरा रंगशालाभित्र बन्ने संघारमा रहेका र बनेका पूर्वाधार मर्मत गर्ने तर्फ प्रदेश सरकारले चासो दिएको छैन् । संघीयताको रटान लगाईरहेपनि पोखरा रंगशालाभित्र पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन् ।

नेपाल क्रिकेट संघ(क्यान)को शुक्रबार वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ ।

गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालनका लागि मापदण्ड लागु गरेको जानकारी उनले गराए । खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री÷कोच÷खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको भनाई उनको छ । यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जन सँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको भनाई उनको छ ।

नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ । क्यानका अध्यक्ष चतुुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतले बोलेका थिए ।