
पोखरा-कास्कीले पर्वतलाई २० रनले पराजित गर्दै तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । अर्को खेलमा नवलपुरले गोरखालाई ९० रनको फराकिलो रनअन्तरले पराजित गर्यो ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा मंगलबार भएको प्रतिस्पर्धमा पर्वतले टस जितेर कास्कीलाई पहिलो इनिङको अवसर दियो । पानीले भिजेको मैदानमा निर्धारित २० ओभरबाट घटाई १३ ओभरमा खेलाइएको प्रतिस्पर्धामा कास्कीले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०८ रन बनायो । सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे । पर्वतका लागि अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रोशन गौतमले २ विकेट र राजु थापाले १ विकेट लिए ।
१०९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रनमा रोकियो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए । अभिषेक थापा भने प्रतियोगिता अगाडि मात्रै कास्कीबाट फुकुवा लिएर पर्वतबाट खेल्न पुगेका हुन् ।
कास्कीका सिब्रिन श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान १–१ विकेट आफनो नाममा लेखाए । प्लेयर अफ द म्याचको हकदार कास्कीका सफल श्रेष्ठ भए । दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेटको क्षतिमा १४३ रनमा रोक्न सफल भयो तर जवाफी ब्याटिङमा आफैं १५.२ ओभरमै ५२ रनमै समेटिँदै ९१ रनले हार ब्यहोर्यो ।
नवलपुरको सुरुआत केही कमजोर रह्यो । सुरुवाती तीन विकेटहरू चाँडै गुमाएपछि टोलीको इनिङ्सलाई रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारी सम्हाले । सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै महत्वपूर्ण योगदान गरे । नवलपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले २–२ विकेट लिए ।
तर यता गोरखाको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो । कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अरू कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । सम्पूर्ण टोली १५.२ ओभरमै ५२ रनमा समेटियो । नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्विकार श्रेष्ठ र कमल परियारले ३–३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट लिए । कमल म्यान अफ दि म्याच बने ।