पोखरा नाईट रनलाई आधालाख घाटा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २८ गते २०८३ मा प्रकाशित


पोखरा-“जाग्छ पोखरा, दौडाउँछ पोखरा“ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।

यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५० रुपैयाँ घाटा भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए । आइतबार प्रेस विज्ञप्तिमार्फत आयव्यय सार्वजनिक गर्दै संयोजक बरालले केही संघसंस्था तथा सहयोगी निकायले प्रतिबद्धता जनाएको रकम समयमै प्राप्त हुन नसक्दा पहिलो संस्करणमै संस्थाले घाटा व्यहोर्नुपरेको बताए । उनका अनुसार आगामी दिनमा बाँकी सहयोग रकम प्राप्त भएपछि घाटा केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालयबाट ४२ हजार ५ सय रुपैयाँ, पोखरा भ्रमण वर्ष (पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा) बाट ३५ हजार रुपैयाँ, खेलाडी दर्ता शुल्कबाट ६० हजार रुपैयाँ तथा विभिन्न संघसंस्था र सहयोगी निकायबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । त्यसैगरी खर्चतर्फ नगद पुरस्कारमा ५१ हजार रुपैयाँ, प्रचारप्रसार तथा पत्रकार सम्मेलनमा ५५ हजार रुपैयाँ, खाजा तथा खानामा ८१ हजार १ सय रुपैयाँ, प्रवद्र्धनात्मक टी–सर्ट खरिदमा ८४ हजार रुपैयाँ, स्वयंसेवक परिचालनमा ४० हजार रुपैयाँ लगायतका शीर्षकमा रकम खर्च गरिएको उल्लेख गरिएको छ ।

संयोजक बरालले छोटो तयारीका बीच प्रतियोगिता आयोजना गर्दा केही आर्थिक भार व्यहोर्नुपरे पनि पहिलो संस्करणबाटै प्रतियोगिताले पोखराको नयाँ खेलकुद इभेन्टका रूपमा सकारात्मक पहिचान बनाउन सफल भएको दाबी गरे । उनले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र दिगो रूपमा निरन्तरता दिइने बताए । रातिको समयमा पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुका साथै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा नेपालसहित पाँच देशका १४५ जना धावक सहभागी भएका थिए । पोखरा महानगरपालिका वडा नं. ९ को समन्वय तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगितामा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर अस्पताल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा सहभागी थिए । यसैगरी पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रूपमा रहेका थिए भने फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन बोर्डिङ स्कुल, हिमश्री फुड्स प्रा.लि.लगायतकाको सहयोग रहेको थियो ।

प्रतियोगितामा खुलातर्फ दार्चुलाका २९ बर्षीय मुकेश थापा प्रथम भएका थिए भने महिलातर्फ पुष्पा शर्मा लिम्बु प्रथम भइन् । यू–१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्यूल प्रथम भएका थिए । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।