आहामा आठ टिम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २९ गते २०७७ मा प्रकाशित


गोल्डकप बारे जानकारी दिदैं आयोजक सहारा क्लबका पदाधिकारीहरु ।

पोखरा-चारदिन पछि धकेलिएको आहा रारा गोल्डकपमा घरेलु क्लबसहित आठ टोलीले प्रतिस्पर्धा गर्न छन् । सहारा क्लबले आगामी चैत २१ गतेदेखि आयोजना गर्ने १९ औं सस्करणको आहा रारा गोल्डकपमा घरेलु टोली सहारा क्लब पोखरासहित ८ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब सहभागितामा कम भएपछि आयोजक सहारा क्लबले चार दिन पछि सार्र्दै पोखरा रंगशालामा २१–२८ गतेसम्म सञ्चालन गर्ने छ ।

प्रतियोगितामा यस वर्ष डिफेण्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लवसहित गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, संकटा क्लव, मच्छिन्द्र क्लव, आयोजक सहारा क्लव र क्यामरुनको डउलास्थित अफ्रिकन रुट एशोसियसन सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले पत्रकार सम्मेलनमा बाताए । क्यारुनी टीम अफ्रिकन रुट एशोसियसनले सहभागिताका लागि टीम दर्ता गराइसकेको उनको भनाई थियो । क्यामरुनी टीम त्यहाँको अब्बल टीम भएको उनको दाबी छ । आहाको चौथो संस्करण अफ्रिकन युनाईटेडले नेपाल पुलिसक्लबलाई पराजित गर्दै जितेको थियो ।

एन्फाले अनुमति दिए अनुसार दर्शक तथा पाहुनालाई एक सिट खाली राखेर बसाइने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष प्याराफिटको क्षमता भन्दा आधा मात्र दर्शक राखेर प्रतियोगिता गरिनेछ ।प्रतियोगिताको बिजेतालाई १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक सहारा क्लवले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाईपनि नगदसहित पुरस्कृत गरिने क्लवका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोषल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गरेर २७ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।