शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित


शुक्लागण्डकी मेयर कप च्याम्पियन गल्कोट नगरपालिका ।

पोखरा-घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ । चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफनो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफनो नाममा लेखाउन सफल रह्यो ।

२–१ सेटले अग्रता लिएको गलकोटले चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्यो । १३–१४ को स्कोरमा पछि परेको गलकोटले लगातार १० अंक जोड्दै २३–१४ को स्थिति पुर्याउँदै उपाधि निकट पुग्यो । गलकोटका खेलाडीको उत्कृष्ट स्पाईकमा लगातार अंक जोड्दा घरेलु दर्शक भने निराश हुन पुगेका थिए ।

आईतबार गाँउफर्कोदय माविको खेल मैदानमा भएको फाईनल खेलमा २५–१६, २४–२६, २५–२१ र चौथो सेट २५–१६ले लिदैं शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कपको उपाधि सहित नगद १ लाख ५० हजार रुपैयाँ जित्यो । उपविजेतामा चित्त बुझाएको शुक्लागण्डकीले भने १ लाख रुपैयाँमा प्राप्त गर्यो । त्यसैगरी तेस्रो स्थानमा भने कास्कीको मादी गाँउपापलिका हुन पुग्यो ।

मादी गाँउपालिकाले तनहुँको घिरिङ गाँउपालिकालाई २५–२३, २९–२७, २५–२२ र २५–२० को सेटमा पराजित गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गर्यो । सान्त्वना भएको टोलीले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा गल्कोट नगरपालिकाका विमल परियार उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी उत्कृष्ट स्पाईकर मादी गाँउपालिकाका सफल विक, बेष्ट सेटरमा गल्कोट नगरपालिकाका मिन सुनार, बेष्ट सर्भरमा गल्कोट नगरपालिकाकै प्रकाश सुनार, बेष्ट ब्लकरमा शुक्ला गण्डकीका मिनबहादुर कुमाल, बेष्ट डिफेण्डरमा गल्कोट नगरपालिकाका रिजन राना र उदियमान खेलाडीमा शुक्ला गण्डकीका प्रदीप गुरुङ रहेका छन् । उत्कृष्ट खेलाडीले नगद १० हजार तथा अन्य विधाका खेलाडीले नगद ५ हजार जनही प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न १५ टोलीले सहभागिता जनाएका थिए ।