झापाको पोष्टमा क्यामरुनको ४ गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित


बागमती गोल्डकप

हेटौंडा-मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपको सोमबार भएको खेलमा अफ्रिकन रुट्स् एसोसिएसन क्यामरुन बिर्तामोड युनाइटेड झापालाई ४–१ गोल गर्दै विजयी भएको छ ।

पहिलो हाफमा शुरुवाती समयदेखि नै झापाले दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट बेस्सेकले १९ औं र ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । झापाका सुनिल गुरुङल राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । गुरुङले प्रहार गरेको गोल धेरै पटक क्यामरुनका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनका एल्जिमीले ५३ औं मिनेट र म्बाकोपीले ६५ औं मिनेटमा थप २ गोल गर्दै सानदार जित दिलाए । ८६ औं मिनेटमा झापाका तर्फबाट गुरुङले गोल गरेका थिए । उक्त गोल नै झापाका लागि अन्तिम गोल रह्यो । खेलको म्यान अफ दी म्याच क्यामरुनका बेस्सेक घोषित भएर पुरस्कारस्वरुप नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेल हिमालयन शेर्पा क्लब काठमाडौं र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ । आइतबार एपीएफ काठमाडौंले रिगल हेटौंडा रिसोर्ट मकवानपुरलाई २–० गोलले पराजित गरेको थियो । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा बराबरीमा रोकिएको थियो । शुरुवाती समयदेखि नै दबाबमा राखेको मकवानपुरले १६ औं र २२ औं मिनेटमा अवसर पाएको थियो । तर, मकवानपुरका विजय बिकको प्रहारलाई गोलरक्षक राजु योगीले उत्कृष्ट बचाउ गरेका थिए ।

एपीएफका प्रदीप लामाले राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको २६ औं मिनेटमा एपीएफका लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एपीएफकै मानबहादुर रानाले ४५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच प्रदीप लामा घोषित भएर पुरस्कारस्वरुप नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, विधागत् उत्कृष्ट खेलाडीलाई प्रतिखेलाडी १० हजार प्रदान गरिनेछ ।