खेलकुद निकायको ध्यान नपुग्दा चारवर्षदेखि थलियो कभर्ड हल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित


पोखरा–२९ भण्डारढीक खेल मैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल । तस्बिर खेलाडी न्युज

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथ भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन् ।

स्थानीय तह, प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदले कभर्ड हल निर्माण पुरा गर्ने तर्फ चासो नदिदाँ निर्माणकै चरणबाट अगाडि बढ्न सकेको छैन् । फुटबल मैदान भन्दा उत्तर तर्फ रहेको कभर्ड हलमा चारवटा व्याडमिन्टन कोर्ट अटाउँछ । ढलाने पिलर ढडिएको छ । पिलरको रड खिया लाएको छ । तत्कालिन लेखनाथ नगरपालिकाको गौरवको योजना भएपनि अहिलेसम्म पुरा हुन सकेको छैन् । २६ देखि ३३ वडाको एउटा मात्रै खेलकुद पूर्वाधारयुक्त रंगशालाको हालत दयनीय बन्दै गएको छ ।

लेखनाथ भण्डारढीक २९ मा अवस्थित रंगशालालाई पूर्वाधारसहित व्यवस्थित गर्ने तर्फ वडाले समेत चासो दिएको छैन् । वडाका वडाध्यक्ष चेतबहादुर गुरुङ भण्डारढीक रंगशालामा फुटबल प्रतियोगिताको शुरुवात गर्ने व्यक्ति हुन् । उनैको सक्रियतामा आदर्श युवा क्लब गठन गरेर २०४४ साल ताका फुटबल प्रतियोगिता शुरुवात गरेका थिए । खेलकुदमा लामो समय समर्पण रहेपनि वडाध्यक्षमा निर्वाचित भएसँगै खेलकुद पूर्वाधारमा स्थानीय तहबाट खासै सहयोग प्राप्त नभएको गुनासो खेलकर्मीहरु बताउँछन् ।

कभर्ड हल बनाउन चारवर्ष अघि परिषदको ५५ लाख रुपैयाँको बजेटबाट काम शुरु गरिएको थियो । संघ युवा तथा खेलकुद मन्त्रालयबाट २५ लाख, प्रदेश खेलकुदबाट ११ लाख, प्रदेश संसद विकास कोष मार्फत २५ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसपछि कसैको आखाँ नपर्दा हल दुईवर्ष यता जस्ताको तस्तै छ ।

‘महानगरपालिकाले भण्डारढीक कभर्ड हल संरचना निर्माणमा यो आर्थिक वर्ष बजेट नै छैन् ।’ महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले भने–‘पोखरा २० मौजा र पोखरा १३ आर्वामा निर्माणाधिन खेलकुद पूर्वाधारलाई मात्रै बजेट राखिएको छ ।’ स्थानीय तह र प्रदेश खेलकुदले कभर्ड हल निर्माणमा गम्भीरता नदेखाएका छैनन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहले स्वामित्व दिए प्रदेशकै मातहतमा निर्माण गर्न सकिने स्पष्ट पार्दै आएको छ । कभर्ड हल निर्माण पुरा भए नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्शल आर्टका केही खेल आयोजना गर्न सकिने विश्वास लेखनाथ खेलकर्मी बताउँछन्।

गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि पूर्वाधार निर्माण एवं मर्मत सम्भारको लागि दुई करोड रुपैयाँ रहेको उल्लेख गरे । ‘मन्त्रालयले दुई करोड पूर्वाधारको लागि छुट्टाएको छ ।’ उनले भने–‘खर्च गर्ने विषयमा ठोस निर्णय भएको छैन् ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि पूर्वाधारको लागि दिईने भन्दै उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय नहुदाँ लगानी गर्न नसकिएको उल्लेख गरे । उनले संघहरुलाई तयारीको लागि छुट्टाइएको बजेट समेत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय नहुदाँ संघहरुलाई आवश्यक सामान दिन नसकिएको स्पष्ट पारे ।