मनाङ मर्स्याङदी क्लवलाई प्रदेश सरकारको १० लाख सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २ गते २०७८ मा प्रकाशित


पोखरा -गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले मनाङ मर्स्याङदीलाई१० लाख सहयोग दिएको छ । मनाङ मस्र्याङ्दी क्लबले उपत्यका बाहिर पहिलो पटक राष्ट्रिय ए डिभिजन लिग पोखरामा खेल्दै छ । मनाङले पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाएपछि ‘ए’ डिभिजन क्लब मोफसलमा सरेको हो । घरेलु मैदानमा लिग खेल्ने मनाङ लाईप्रदेश सरकारले १० लाख सहयोग गरेको हो । प्रदेश सरकारको सहयोगलाई क्लबले व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने गर्ने उल्लेख गरेको छ ।

गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता–पत्रमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ र एमएमसीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा जनाइए अनुसार मनाङ मस्र्याङ्दीले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद गण्डकी संग मिलेर काम गर्नेछ प्राविधिक लगायत पोखरा रंगशालाको संरक्षण लगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौता–पत्रमा उल्लेख छ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो पटक शनिवार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ । सहयोग स्वरुप प्रदान गरिएको रकम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा समेत विनियोजन गरेको छ ।

सम्झौता पछि कुरा गर्दै यूवा तथा खेलकुद मन्त्री गुरुङले मनाङ मस्र्याङ्दी क्लबसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद रहेको बताए । उनले भने–“अव प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत हामीले एमएमसी संग मिलेर अघि बढ्न सक्छौं ।” एमएमसीले पोखरालाई होम ग्राउण्ड रोज्नु स्वागत योग्य रहेको जनाउँदै प्रदेश सरकारले हाल १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मुल उद्धेश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्य नै रहेको औंल्याए ।