१० खेलका २३ इभेण्ट रद्द

- महिनादिनको बन्द प्रशिक्षणपछि खेलाडी अब दर्शक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २१ गते २०७९ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशका बन्द प्रशिक्षणमा रहेको केही खेलका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल दर्शक बनेर फर्किने छन् । बन्द प्रशिक्षण सकेर दशैं मनाउन घर गएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा दर्शक बनेर उपस्थिति जनाउने छन् । इभेण्टहरु रद्द हुदाँ प्रशिक्षण खेलाडीहरु दर्शक बनेर फर्किनुपर्ने बाध्यता राष्ट्रिय खेलकुद परिषदले सृजना गरिदिएको हो । खेलाडीहरु निराश बनेका छन् । प्राप्त सूचना अनुसार १० खेलका २३ वटा इभेण्ट रद्द गरिएको छ ।

झण्डै एक महिना बन्द प्रशिक्षण गरेर आफुले खेल्ने इभेण्ट रद्द हुदाँ खेलाडीमा नैराश्यता छाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुनु भन्दा एकसाता अघि मात्रै इभेण्टहरु रद्द गरिएको सार्वजनिक भएको हो । राष्ट्रिय खेलकुद परिषद एवं युवा तथा खेलकुद मन्त्रालयले समेत राष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडीहरुको अन्तिम नामावली भदौ २६ गतेभित्र पठाईसक्नुपर्ने निर्देशन अनुसार प्रदेश छनोट गरेर खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

प्रतियोगिताको लागि चारवटा प्रदेशको सहभागिता अनिवार्य हुन्छ । प्रत्येक खेलका इभेण्टमा चारवटा प्रदेशको सहभागिता नभए खेल रद्द हुने प्रावधान छ । प्रावधान अनुसार विभिन्न खेलका इभेण्टहरु रद्द हुदाँ खेलाडीहरुले घरेलु प्रदेशमै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट बन्चित भएका हुन् । गल्फ आर्चरी, प्याराग्लाईडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेण्ट नहुने परिषदले जनाएको छ । अधिकांश इभेण्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो । सबैभन्दा बढी आर्चरीमा सात इभेण्ट रद्द गरिएको छ । त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेण्टसम्म नहुने सम्भावना छ ।

‘जिमन्याष्टिकको दुई इभेण्ट नहुने खबर पाएका छौं ।’ कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने ‘फ्लोरका मात्रै गेम हुने सम्भावना छ ।’ खेलाडीहरुलाई सबै इभेण्टमा सहभागिता जनाउने गरी प्रशिक्षण गराएपनि इभेण्ट नै नहुनेभएपछि खेलाडीमा निराशा छाएको उनले बताए । उनका अनुसार पुरुष तर्फको पोमेल हर्स र महिला तर्फ भल्टिङ टेबल नहुने सूचना छ ।

‘हाम्रो ध्यान टेनिसमा हो । सफ्ट टेनिसमा होईन् ।’ कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले भने ‘सफ्ट टेनिसमा महिला टिम इभेण्ट रद्द भएको जानकारी पाएका छौं । हामीले सफ्ट टेनिस खासै तयारी पनि गरिएको थिएन् ।’ आर्चरीमा १५ वटा इभेण्ट मध्ये ७ वटा मात्रै हुने छन् । भारोत्तोलनको हेभीवेटको प्रतिस्पर्धा हुने छैन् । प्याराग्लाईडिङमा एक्युरेसीको इभेण्टमा महिला खेलाडी थिए । तर अन्य प्रदेशमा खेलाडी नहुदाँ इभेण्ट नै रद्द भएको प्याराग्लाईडिङमा प्रमुख प्रशिक्षक योगेश भट्टराईले बताए । ‘महिला क्रसकन्ट्री(एकल) र टिम क्रसकन्ट्री इभेण्टमा प्रदेश र विभागीयको समेत टिम बन्न सकेन् ।’ उनले भने–‘टिम नहुदाँ इभेण्ट रद्द हुन पुग्यो ।’

गण्डकी प्रदेश खेलकुद परिषदले भदौ १६ देखि १९ गते र केही खेल केहीदिन ढिलो गरी प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न गरेर बन्द प्रशिक्षणमा राखेको थियो ।