प्रतिक्षा दशौं राष्ट्रिय खेलकुद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०८२ मा प्रकाशित


पोखरा-निर्वाचन सकिएसँगै मतपरिणाम पनि अन्तिम चरणमा छ । समानुपातिक मतगणनाको परिणाम आएसँगै निर्वाचन प्रक्रिया पूर्णत सकिन्छ । नयाँ सरकार गठन हुने छ । नयाँ सरकार गठनसँगै खेलाडीको आशा सर्दै गएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय हुने छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिकामा निर्मित रंगशालाले विभिन्न खेलका एथलिटलाई स्वागत गर्न आतुर छ । चार पटक मिति सरेर पनि अन्यौलपूर्ण बन्दै गएको खेलकुद प्रतियोगिता अब भने स्थायी सरकार गठनसँगै प्रतियोगिता सजह रुपमा हुने छ । प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन भईसकेको अवस्था हो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशले केही खेलको छनोट गरिसकेको छ । छनोट भएका खेल संघले ती खेलाडीलाई प्रशिक्षणमा राख्नुपर्ने दायित्व र जिम्मेवार सम्बन्धित निकायले लिनुपर्छ । बन्द प्रशिक्षणमा राख्नुपर्छ, तर अहिले नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो मितिमा हुन्छ भन्ने ठोकुवा गर्न सकिदैन् ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशमा केही खेलहरुको छनोट गरिएको बताए । छनोट गरिएको खेलको खेलाडीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने उनको भनाई थियो । उनले केही खेल संघले खेलाडी छनोटबाट छुटेको अवस्थामा खेलाडीलाई समावेश गर्न सक्ने सुनाए ।

“छनोट भएका खेलाडीहरुबाटै टिम तयार गर्ने हो । यदि कुनै संघलाई राम्रो खेलाडी छुटेको महशुस भए सम्बन्धित संघले त्यस्तो खेलाडीलाइ समावेश गर्न सक्छ ।” सदस्य सचिवको भनाई थियो । उनले छनोट प्रतियोगिताबाट छनोट गरिएको खेलाडी समावेश गरेर गण्डकी प्रदेश हक्की संघले काठमाडौंमा आयोजित राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगितामा समावेश गरेको थियो । जहाँ गण्डकी प्रदेशले महिला तर्फ च्याम्पियन र पुरुष तथा उपविजेता बनेको थियो ।

आर्थिक वर्षमा छुट्टाईएको बजेट अनुसार असार मसान्तभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने हुन्छ । अन्यथा अर्को आर्थिक वर्ष फेरी बजेट विनियोजन गरेर वर्षको मध्यसमयमा गर्नुपर्ने देखिन्छ । प्रतियोगिताको मिति तय नहुँदा खेलाडी खेल संघ र खेलकुदका पदाधिकारी स्वयं अन्यौलमा छन् ।